logo-img

बाजुरामा वर्षासँगै हिमपात, किसानमा खुसियाली
फाइल तस्बिर

वर्षासँगै बाजुराको माथिल्लो भेगमा  हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।  

यस्तै, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।  

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । 

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा  किसान खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताए । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । 

हिमपातका कारण बाजुराको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जि सेवा प्रभावित भएको छ । रासस  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ११:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया