logo-img

पाकिस्तान सुपर लिगमा पेसावर जाल्मीलाई हराउँदै मुल्तान सुल्तान फाइनलमा

मुल्तान सुल्तान पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा प्रवेश गरेको छ । जारी सिजनमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालीफायर खेलेको मुल्तानले पेसावर जाल्मीलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पेसावर जाल्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा मुल्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै फाइनलमा स्थान बनायो ।

कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको पेसावरले सुरुआत राम्रो गरेन । टिमको स्कोरबोर्डमा चार रन भएका बेला ओपनर सयम अयुबलाई गुमायो । उनले एक रनमात्रै बनाए । त्यसपछि कप्तान बाबर आजम र मोहमद हेरिस मिलेर खेल अघि बढाएका थिए । छैटौं ओभरमा हेरिस १४ बलमा २२ रन बनाएर आउट हुँदा पेशावरको रन ५१ थियो । 

त्यसपछि क्रिजमा आएका हेसबुलाह खान जम्मा तीन रन जोडेर तेस्रो विकेटको रुपमा आउट भए । टम कोलेर काडमोर र बाबरले टिमको स्कोर १०० प्लस बनाए । १०१ रन भएका बेला कप्तान बाबर ४२ बलमा ४६ रनको पारि खेल्दै आउट भए । पेशावरले पाँचौं विकेट १५.२ ओभरमा गुमाएको थियो । टम २४ बलमा २४ रन बनाएर आउट भए ।

रोभमन पावेलले १२ रन जोड्दा पौल वाल्टरले नटआउट १४ रन जोडे । अमेर जमाले १ रनमा आउट हुँदा लुक वुड नटआउट १४ रनमा रहे । वाल्टर र वुडले नटआउट १४–१४ रनको पारि खेलपछि पेशावरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो ।

मुल्तानका लागि उस्मा मीर र क्रिस जोर्डनले समान दुई – दुई विकेट लिए । १४७ रनको लक्ष्यसहित मैदान उत्रिएको मुल्तानको सुरुआत राम्रो भयो । पहिलो विकेटका लागि यासिर खान र कप्तान मोहमद रिजवाले ६१ रनको साझेदारी गरे । रिजवान १५ रन बनाएर आउट भएका थिए । त्यसपछि यासिर र उस्मान खान मिलेर पारि अघि बढाए । 



यासिर ३७ बलमा ५४ रनको अर्धशतकीय पारि खेलेर आउट हुँदा मुल्तानले १०.५ ओभरमा ८४ रन बनाएको थियो । त्यसपछि उस्मान खान र जोनसन कार्लेसले मुल्तानको स्कोर ११५ रन प्लस बनाए । ११९ रन भएका बेला कार्लेस ११ रन बनाएर पभेलियन फर्किएका थिए । उनीपछि क्रिजमा आएका इफ्तिकर अहमदले उस्मानलाई गतिलो साथ दिँदै टिमलाई जित दिलाए । उस्मानले २८ बलमा ३६ तथा इफ्तिकरले ८ बलमा २२ रनको उत्कृष्ट नटआउट पारि खेलेका थिए ।

पेशावरका लागि मेहरान मुमताज, अमेर जमाल र सल्मान इस्रिदले समान एक –एक विकेट लिए । पहिलो क्वालीफायरमा पराजित भएको पेशावरले फाइनल पुग्न अझैं अर्को मौका पाउने छ । 



पीएसएल अन्तर्गत आज एलिमिनेटरमा इस्लामावाद युनाइटेड र क्वेटा ग्लाडियटर्स भिड्दै छन् । यो खेल राति पौने १० बजे सुरुहुने छ । आजको विजेताले फाइनल प्रवेशका लागि पेशावरसँग शनिबार खेल्नु पर्ने छ । लिगको फाइनल खेल भने सोमबार हुने छ ।

  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ९:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया