logo-img

प्रधानमन्त्री दाहालको दाबी : देशको राजनीति सही ट्रयाकमा आयो
‘वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन नयाँ समीकरण’

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको दाबी गरेका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार बिहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउनका निम्ति नयाँ समीकरण बनाएको पनि दाबी गरे । 

‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ । त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले माओवादीलाई सुदृढ गर्न हिमाल, पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एकमहिने अभियान चलाउने उल्लेख पनि गरे । केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरणसँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहालको दाबी छ ।  



‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ,’ प्रधानमन्त्री दाहालले भने । 



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ९:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया