logo-img

सूर्यको शतकमा मुम्बईको सानदार जित, हैदराबादलाई प्लेअफ पुग्न बढ्यो दबाब
तस्बिर : बिसिसिआई

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले चौथो जित निकालेको छ । मुम्बईले चौथो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।

आफ्नो १२औँ खेलमा हैदराबादले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सूर्यकुमार यादवले शतकीय इनिङ खेले । ५१ बलको सामना गरेका यादवले १२ चौका र ६ छक्कासहित अविजित १०२ रनको इनिङ खेलेका हुन् । आइपिएलमा उनको यो दोस्रो शतक हो ।

यस्तै, तिलक वर्माले अविजित ३७, इशान किशनले ९ र रोहित शर्माले ४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यान्सन र प्याट कमिन्सले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो । उसका लागि ट्रभिस हेडले ४८, कप्तान प्याट कमिन्सले अविजित ३५, नितिशकुमार रेड्डीले २०, मार्को यान्सनले १७, अभिषेक शर्माले ११ र शाहबाज अहमदले १० रन बनाए ।



मुम्बईका लागि हार्दिक पाण्ड्या र पियुष चावलाले तीन/तीन, जसप्रित बुहराह तथा अंशुल कम्बोजले एक/एक विकेट लिए । यो जितपछि मुम्बई नवौँ स्थानमा उक्लिएको छ ।

प्लेअफमा स्थान बनाउन उसको झिनो आशा बाँकी नै छ । मुम्बईले प्लेअफमा स्थान बनाउने हो भने अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ । तर, मुम्बई १२ अंकका साथ प्लेअफमा पुग्ने सम्भावना निकै न्यून छ । 



मुम्बईसँगको हारले हैदराबादलाई दबाबमा बढेको छ । अहिले ऊ ११ खेलबाट १२ अंकका साथ तालिकाको चौथो स्थानमा छ । हैदराबादले अब तीन खेल खेल्न बाँकी छ । आइपिएलमा मंगलबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।  

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ६:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया