logo-img

फ्रेण्डसिप कप : दोस्रो जितको खोजीमा नेपाल, आज बरोडासँग भिड्दै
फाइल तस्बिर

भारतमा जारी एसएमएस फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा नेपालले आज बरोडासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो २ः४५ देखि सुरु हुनेछ ।  

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । आइतबार भएको उक्त म्याचमा गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपाल अब बरोडाविरुद्ध पनि सहज जित निकालेर फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ ।  

यद्यपि तुलनात्मकरूपमा गुजरातभन्दा बरोडाको टिममा घरेलु क्रिकेटको राम्रो अनुभवी भएका बढी खेलाडी छन् । बरोडाको टिममा कप्तान विष्णु सोलंकी, ज्योत्सनील सिंह, शाश्वत रावत, प्रियांसु मोलिया, भानु पनिया, सोयब सोपारिया, अभिमन्यू राजपूत, मोहित मोंगियाजस्ता रणजी ट्रफी, विजय हजारे र सैयद मुस्ताक अली ट्रफी खेलिसकेका खेलाडी छन् । 

उनीहरूमध्ये प्रियांसु मोलियाले यही वर्ष भएको यू–१९ विश्वकपमा नेपालविरुद्ध पनि खेलेका थिए । तर, बरोडाको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका खेलाडी भने छैनन् । घरेलु क्रिकेटको राम्रो अनुभव हासिल खेलाडीले भरिपूर्ण टिम भए पनि बरोडाले सोमबार गुजरातसँग ५ विकेटको हार बेहोरेको थियो । यस खेलमा बरोडाले दिएको १४३ रनको लक्ष्य गुजरातले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।  

बरोडाविरुद्ध नेपालले प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी र ललितनारायण राजवंशीले मौका पाउने सम्भावना छ । यो प्रतियोगिता खेलेपछि नेपाली टिम एसिसी प्रिमियर कप खेल्ने ओमान जानेछ । प्रिमियर कप यही १२ अप्रिलदेखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ७:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया