logo-img

निलम्बित जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
       
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले आज सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।
       
'पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धबिच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ,' आदेशमा भनिएको छ, 'सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।'
       
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको छ । गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
      
जिल्ला सरकारी वकिल कार्यालयले गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएपछि निलम्बनमा रहेका छन् ।

यसैबीच, आज सो मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा गिरी पत्नीले इजलासमै शंकास्पद वस्तु सेवन गरेपछि निजलाई अस्पताल लगेको बताइएको छ । सर्वोच्च अदालतको सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निजले शंकास्पद वस्तु सेवन गरेपछि उपचारका लागि वीर अस्पताल लगिएको हो । के सेवन गरिएको थियो भन्ने खुलेको छैन ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १८:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया