logo-img

छाडा छाडिएका गाईको दूध र गोबर बेचेर मासिक लाखौँ आम्दानी

धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो ।  गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् । 

विसं. २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको  गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो ।

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताइन् । 

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार पाँच सयरुपैयाँ गोबर बिक्रीबाट मासिक ५० हजार रुपैयाँ र गौदानबाट २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ । सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको बताए । 

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए । 

चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख रुपैयाँ, धनगढी उपमहानगरपालिकाबाट १० लाख रुपैयाँ र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट आठ लाख रुपैयाँ बजेट उपलब्ध भएको जनाइएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ११:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया