logo-img

नेता पौडेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कास्कीका पूर्वसभापति, महासमिति सदस्य एवं निष्ठावान नेता खेमराज पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको पोखराको फेवासिटी अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा आज निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत पौडेलको निधनको खबरले दुखी र मर्माहत बनाएको उल्लेख गर्दै पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताएका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

लामो समय कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका नेता पौडेल १४ मंसिर २०७६ मा सम्पन्न भएको कास्की जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए ।

विद्यार्थी जीवनकालदेखि नै राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्व पौडेलले लोकतन्त्रको पक्षमा आवाज बुलन्द गर्दा भारत प्रवाससमेत व्यहोर्नु परेको थियो । नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २२:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया