logo-img

सामान्य अवस्थामा फर्कँदै वीरेन्द्र ताल, टर्‍यो हिमपहिरो पछिको जोखिम

मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । 

आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो’, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ ।’

उनले तालको नजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए । हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

‘तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको बहाव बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ’, उनले भने, ‘त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रमसमेत रोकिइसकेको छ ।’

प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीले तालको पानी गहिरो बनाएर निष्कासन गरेको बताए । सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनको भनाइ छ । मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो ।

हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो ।





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १२:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया