logo-img

सगरमाथाका पोर्टरको लागि लोबुचेमा पौने पाँच करोड लागतमा बन्दै ‘पोर्टर हाउस’

सगरमाथा बेसक्याम्पतर्फ पर्यटकको भारी बोकेर हिँड्ने भरिया (पोर्टर)का लागि लोबुचेमा ‘पोर्टर हाउस’ बन्ने भएको छ । पौने पाँच करोड खर्चिएर पोर्टर हाउस निर्माण गर्न लागिएको हो । उक्त निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ ।  

शिलान्याससँगै बिहीबारदेखि नै पोर्टर हाउस निर्माण गरिएको हो । लोबुचेमा भरियाका लागि सुविधायुक्त वासस्थान बनाउन लागेको खुम्बियुल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छेपाल दोर्जी शेर्पाले बताए ।

पोर्टर हाउस बनाउन कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले चार करोड २५ लाख सहयोग गर्ने बताइएको छ । यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ। 

२१ सय ७३ वर्गफिट क्षेत्रफलमा बन्ने दुईतले भवनमा एकैपटक ८० जनासम्म भरियालाई लजिस्टिक सेवा दिन सकिन्छ । भवनमा दुईवटा बाथरुम, पाँचवटा ट्वाइलेट, एउटा ट्रिटमेन्ट रुम, किचन, डाइनिङ, वेटिङ रुमलगायत सुविधा रहने बताइएको छ । पोर्टर हाउस चार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शेर्पाले बताए । उनका अनुसार भरियाले आधा सस्तोमा सेवा प्राप्त गर्न सक्छन् । 

चार हजार नौ सय मिटर उचाइमा रहेको लोबुचे सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । त्यहाँ सञ्चालित एक दर्जनजति होटेल सिजनमा पर्यटकलाई नै अपुग हुने गर्छन् । सिजनमा आरोही, पदयात्री, गाइड, भरिया, भान्से, सहयोगी गरी दैनिक हजारभन्दा बढी सगरमाथा बेसक्याम्पतर्फ लागिरहेका हुन्छन् । पर्यटकहरू फाक्दिङ, नाम्चे, तेङबोचे, डिङबोचे, लोबुचे, गोरकसेप वास बस्दै बेसक्याम्प पुग्छन् । सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न जाने आरोही पनि लोबुचेमा वास बस्नुपर्छ । 

खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले लोबुचेमा पोर्टर हाउस बनाउन नेपाल टुरिजम बोर्ड, ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) पुगेर सहयोग माग गरिएको थियो । तर, आफ्नो प्रपोजलमाथि कहीँ–कतैबाट सुनुवाइ नभएको अध्यक्ष शेर्पाको भनाइ छ । 



नेपालको ट्रेकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ । विदेशीलाई महँगो मूल्यमा बिक्री गर्नुपर्ने प्याकेज सस्तोमा बिक्री गर्न प्रतिस्पर्धा हुन्छ । सस्तो प्याकेज बिक्री गर्नेबित्तिकै ट्रेकिङ कम्पनीले पोर्टर, गाइड, भान्से, सहयोगीलाई ज्यालामा कडाइ गर्छन् । कम्पनीले भरियालाई दैनिक १६–१७ सय ज्यालामा काममा लगाउँछन् । 

खुम्बु क्षेत्रमा दुई छाक खानाकै पाँच सय रुपैयाँ पर्छ । खाजामा तीय सय खर्च हुन्छ । यस्तै, एक कप चियाको डेढ सयका दरले दुई–तीन कप खायो भने चार–पाँच सय रुपैयाँ खर्च हुन्छ । त्यो हिसाबले एउटा पोर्टरको दैनिक खर्च नै १७–१८ सय रुपैयाँ पुग्छ । पोर्टर हाउस निर्माण भएर सञ्चालनमा आएपछि उनीहरूलाई सहज हुनेछ । 



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १२:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया