logo-img

उपनिर्वाचनमा सिङ्गो शक्ति परिचालन हुँदा पनि रास्वपाको जमानत जफत, पार्टीभित्र के हुँदै छ छलफल ?
आफ्नो ‘एकलौटी सरकार’ बनाउन रास्वपाको आगामी बाटोबारे छलफलमा नेताहरू

इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरू छलफलमा जुटेका छन् । एक वर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर साबित भएपछि समीक्षा गर्नुपर्ने अवस्थामा छ ।

माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने बताएको छ । चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपाकै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरूले इलामको परिणामबाट नयाँ मिसनमा अघि बढ्नुपर्ने निचोडमा छन् ।

चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिङ्गो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ । उपनिर्वाचनको प्रचारमा पटक पटक पार्टी सभापति रवि लामिछानेसहित रास्वपाका उच्च तहका नेताले इलाममा दैडधूप गरेका थिए । इलामका जनताले घण्टी नबजाईकन साङ्केतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ । 

उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ ।

उपनिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए । उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए । 

महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए । उनले सरकारमा पार्टीले गरेका कामहरूको मूल्याङ्कन गर्न टिम बनाउने निर्णय भएको बताए । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ ।



प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र ०८० मा रास्वपाका उम्मेदवारले सहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए । सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिए पनि परिणाम खराब आएपछि गाउँमा सङ्गठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ ।

रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरू सहकारी ठगी प्रकरणमा मुछिएपछि जनलहर घटेको भन्ने विषयमा पार्टीले आन्तरिक छलफल गरेको छैन । 



  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १३:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया