logo-img

नेपाली भान्सामा गुणस्तरहीन तेलको बिगबिगी : कसरी चिन्ने शुद्ध खानेतेल ?

तेल सामान्यतया नेपाली भान्सामा आवश्यक पदार्थमध्ये एउटा महत्त्वपूर्ण पदार्थ हो । दाल, तरकारी, अचारलगायत हामीले दैनिक रूपमा बनाउने जुनसुकै परिकारमा तेल अभिन्न अंग बनेको छ । पहिले–पहिले अधिकांश नेपालीले आफैँ गाई–भैँसी पाल्ने गर्थे । तिनीहरूबाट उत्पादित घिउ, नौनीलगायत पदार्थबाट भान्साको आवश्यकता टार्ने गरिन्थ्यो । अहिले धेरै मानिस सहरिया जनजीवनमा अभ्यस्त बन्दै गएपछि घिउको स्थान आयातीत तेलहरूले लिने गरेको पाइन्छ । 

बजारमा धेरैथरी तेल पाइन्छन् । विशेषगरी बजारमा सहजै उपलब्ध हुने तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल र जैतुनको तेल प्रायः हाम्रो भान्सामा प्रयोग हुने तेलहरू हुन् । बजारमा विभिन्नथरीका तेलको उपस्थिति बढे पनि तोरीको तेलको प्रयोगमा कुनै कमी आएको छैन । यद्यपि, समय–समयमा तोरीको तेलमा अखाद्य वस्तुको मिश्रणका खबर पनि आउने गरेका छन् ।

गत वर्ष वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा विभिन्न नाममा गुणस्तरहीन तोरीको तेल बिक्री भइरहेकोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता तथा बिक्रेतालाई सचेत गराएको थियो । विभागले एक सूचना जारी गर्दै सरकारी निकायबाट इजाजत नलिई अवैध तरिकाले बजारमा गुणस्तरहीन तोरीको तेल भित्र्याएर बिक्री, वितरण भइरहेको भन्दै त्यस्तो तोरीको तेलको कारोबार नगर्न सचेत गराएको हो ।

गुणस्तरहीन तोरीको तेल विशेषगरी तराईको बजारमा व्यापक रूपमा कारोबार हुँदै आएको सरोकारवालाको भनाइ छ । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानुनी रूपमा बिक्री हुन थालेपछि पाँच वर्षअघिदेखि सरकारले नै प्रतिबन्ध लगाएको थियाे । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ ।

ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ । हानिकारक रसायन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ । गुणस्तरहीन तथा प्रतिबन्धित तेलका कारण करोडौँको लगानीमा स्थापित नेपाली उद्योगका लगानीकर्ताको व्यवसाय धरासायी हुने अवस्थामा पुगेको छ । भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ ।



नेपाल चामल तेल दाल उद्योग संघको उजुरीका आधारमा विभाग गुणस्तरहीन तोरीको तेलको कारोबारविरुद्धमा उत्रिएको थियो । संघको उजुरीपछि विभागले इजाजत नदिई कारोबार हुँदै आएको तोरीको तेलको बिक्री वितरणमा रोक लगाउनुका साथै आवश्यक निगरानी गर्न विभिन्न निकायलाई पत्राचारसमेत गरेको थियो ।
 
विभागले निकालेको उक्त सूचनाले नेपाली बजारमा गुणस्तरहीन तेलको बिगबिगी रहेको जनाउँछ । एकपटक मात्र होइन, नेपाली बजारमा गुणस्तरहीन खानेतेलको बिगबिगीबारे समय–समयमा खबर बाहिरिइरहेका छन् । सीमावर्ती बजारमा भारतका विभिन्न स्थानबाट अवैध रूपमा भित्रिएका विभिन्न नाममा रहेका तोरीको तेलको खुलेआम कारोबार हुँदै आएको छ । 

नेपालमा त्यस्तो तेलको गुणस्तरसमेत परीक्षण नभएको तथा कारोबारका निम्ति इजाजतसमेत नलिइएकाले मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुको कारोबार रोक्नुपर्ने उपभोक्ताकर्मीको भनाइ छ ।



फितलो नियमन 

एकातिर राष्ट्रिय अर्थतन्त्रमा असर पार्ने र अर्कोतिर जनताको स्वास्थ्यमा पनि नोक्सानी पुर्याउने गुणस्तरहीन तोरीको तेलको अवैध कारोबारलाई नियन्त्रण गर्न स्थानीय प्रशासन चनाखो हुनुपर्ने उपभोक्ताकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधवप्रसाद तिमिल्सिना हाम्रो बजारमा पाइने तेलको गुणस्तरमा पहिलेदेखि नै गम्भीर प्रश्न उठिरहेको बताउँछन् । खाद्यबाट जुन तवरबाट नियमन हुनुपर्ने थियो, त्यो हुन नसकेको उनको गुनासो छ । त्यसकारण बजारमा उपलब्ध खानेतेलको बारेमा उपभोक्ता स्वयं चनाखो हुनुपर्छ ।
 
‘सबैभन्दा पहिले आफूले उत्पादन गरेको वस्तु के हो ? उत्पादित तेलको लेबल, लेबलअनुसारको वस्तु ठिक भए–नभएको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय सरकारलगायत निकायले बजारमा उपलब्ध तेलको नमुना संकलन गरेर परीक्षण गर्ने काम गर्नुपर्छ । जुन अहिले भइरहेको छैन,’ अधिकारकर्मी तिमिल्सिना भने । ‘खानेतेलका बारेमा उपभोक्ताबाट गुनासो बढिरहेको छ । खानेतेल जस्तो छैन, चिल्लोपना कम हुँदै गएको छ, तेल चाँडै डढेजस्तो गन्ध आउँछ, तेलमा मिसावट छ कि के हो भन्नेलगायत गुनासो आइरहेका छन्,’ उनी भन्छन् । ​

उनका अनुसार बजारमा उपलब्ध तेलको नमुना संकलन तथा परीक्षणमा सरकार चुकिरहेको छ । भ्रमपूर्ण प्रचारप्रसार गरेका तथा आयातीत तेल अनुगमनमा सरकारले हेलचेक्र्याइँ गरेको उनको भनाइ छ । ‘उपभोक्ताले उत्पादन मिति, ब्याच नम्बर, उपभोग्य मिति, उत्पादक तथा आयातकर्ताको स्पष्ट विवरण उल्लेख नभएको तेल प्रयोग गर्नुहुँदैन,’ उनले भने, ‘यसका साथै लेबलविनाका तेलको पनि प्रयोग गर्नुहुँदैन । यदि आफूले प्रयोग गरिरहेको तेलमा कुनै शंका लागेमा नजिकैको प्रहरी चौकी, खाद्य प्रविधि तथा गुण नियन्त्रणमा उजुरी गर्न सकिन्छ ।’

कसरी चिन्ने शुद्ध तेल ?

खानामा तेलका कारण पाइने मिठास एकातिर छ, तर तेलमा हुने तत्वहरू कति मानिसका लागि लाभदायक नहुन सक्छन् । त्यसमाथि बजारमा पाइने तेलमा मिसाइने अखाद्य वस्तुहरूले पनि स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेका हुन्छन् । त्यसो त, हाम्रो शरीरका लागि ए, डी, ई, के भिटामिन प्राप्त गर्न चिल्लोपदार्थ चाहिन्छ । त्यो चिल्लोपदार्थ खानेतेलबाट नै पूर्ति हुने जनस्वास्थ्यविद् बताउँछन् । कुनै पनि तेलले बेफाइदा त गर्दैन ? या कति स्वास्थ्यवर्द्धक छ ? भन्ने कुरा दैनिक कति तेलको प्रयोग भइरहेको छ भन्नेमा भरपर्ने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । उनका अनुसार तेललाई धेरैबेर तताउने, एकपटक प्रयोग गरेको तेल पटक–पटक प्रयोग गर्ने गरेमा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।

विभिन्न अनुसन्धान अनुसार तोरी र सूर्यमुखीको तेलमा एउटै पोषक तत्व ओमेगा सिक्स पाइन्छ । किनकि यी दुवै तेल वनस्पतिबाट बनेका हुन्छन् । यसमा भटमास र नरिवलको तेल पनि पर्छन् । तेलबाट पाइने अर्को पोषक तत्व हो ओमेगा थ्री, जुन जीवजन्तुबाट पाइन्छ । जस्तै माछाको तेल, समुन्द्रमा पाइने जीवजन्तुबाट पाइने तेलमा ओमेगा थ्री पाइन्छ । वनस्पतिजन्य तेल र जीवजन्तुबाट पाइने तेलमा पाइने पोषक तत्व फरक हुने भएकाले हप्तैपिच्छे तेल परिवर्तन गरेर खाने गरे राम्रो हुने पोषणविद् आचार्यको भनाइ छ ।​

‘पहिले–पहिलेजस्तो शतप्रतिशत शुद्ध तेल पाउन त गाह्रै हुन्छ । तथापि, अहिले बजारमा पाइने तेल हानिकारक हुन्छन् भन्न खोजिएको होइन । तर, सूर्यमुखी तेल आयातीत भएकाले शुद्धतामा शंका गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘पहिले मिलबाट प्रत्यक्ष तेल ल्याइने भएकाले त्यसलाई धेरैबेर तताएर मात्रै खानेकुरा पकाउनुपर्ने हुन्थ्यो । तर, अहिले उद्योगमा भुटेर, पकाएर, विभिन्न तत्व मिसाएर प्याकिङ गरी आएका हुन्छन् । यस्तो तेललाई धेरै तताउनु पर्दैन । हल्का तताएर तरकारी वा अन्य खानेकुरा पकाउँदा हुन्छ । यसो गर्नाले तेलमा पाइने पोषक तत्व नष्ट हुन पाउँदैन ।’

उनका अनुसार मानिसका लागि दैनिक कम्तीमा १० एमएल तेल खान जरुरी हुन्छ । जुन दिनभरि बिहान, दिउँसो र बेलुका गरी उपभोग गरिन्छ । एकैचोटि गर्दा नकारात्मक असर पर्न सक्ने उनी जनाउँछिन् । 

छैन सरोकार निकायको ध्यान

नेपाली बजारमा बिक्री हुँदै आएका तेलका बारेमा कुनै निकायले पनि परीक्षण गरेको पाइँदैन । अनुगमन गर्ने वाणिज्य विभागको ध्यान खुद्रा पसलले मूल्यसूची राखे–नराखेको र नवीकरण भए–नभएको झिनामसिना कुरामै सीमित छ भने गुणस्तर परीक्षण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागमा शुद्धता मापन गर्ने जनशक्ति नै छैन । 

उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाका अनुसार सरकारले आजभोलि नै गरिहाल्नुपर्ने काम भनेको बजारमा उपलब्ध तेलको नमुना संकलन गरेर परीक्षण गर्नुपर्छ । परिक्षणपश्चात् तेलको गुणस्तर ठिक भए–नभएको आमउपभोक्तालाई जानकारी दिनुपर्छ । सीमित स्रोत–साधनका कारण गुणस्तर मापन गर्ने निकायहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १९:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया