logo-img

सत्ताकै आडमा जसपा विभाजन : श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अहिले विदेश भ्रमणमा छन् । यादव विदेशमै रहेका बेला उनी नेतृत्वको जसपा विभाजन भएको छ । वर्तमान सत्तासमीकरणमै रहे पनि असन्तुष्ट रहँदै आएका यादवसँग एमाले र माओवादी सशंकित थिए । 

एकातिर माधव नेपालको घुर्की, अर्कोतिर यादवको असन्तुष्टिका बीच सत्तासहयात्री दल विभाजन हुुनुमा सत्तापक्षकै हात रहेको अनुमान गर्न कठिन छैन । विभाजित पक्षले वर्तमान सत्तासमीकरणमै रहने र सरकार पनि नछाड्ने बताउनुले पनि सो विभाजनमा सत्तापक्षको हात रहेको पुष्टि हुन्छ ।  

जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैली निरंकुश भएको भन्दै उपाध्यक्ष अशोक राईको संयोजकत्वमा सो पार्टी विभाजन भएको छ । अशोक राईसहित सात सांसदले पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार निर्वाच्न आयोगमा निवेदन दिएका छन् । 

यसरी निवेदन दिनेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ । 

सरकारमा जसपाका दुई मन्त्री थिए । उनीहरू पनि फरक–फरक कित्तामा उभिन पुगेका छन् । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं अध्यक्ष उपेन्द्र यादव संस्थापन र नवलकिशोर साह सुडी विभाजित नयाँ पार्टीको पक्षमा लागेका छन् । 

विभाजनको पक्षमा उभिएका एक नेताले देशलाई राजनीतिक निकास दिनका लागि नयाँ बाटो रोजेको दाबी गरेका छन् । पार्टी अध्यक्ष यादवले देशको विविधिता नबुझेको र निरंकुश शैली अपनाएका कारण नयाँ कदम चालेको ती नेताले बताए । 



पार्टी अध्यक्ष यादवको सबैभन्दा कमजोरी एक्लै हिड्ने बानी भएको उनले बताए । पार्टी विभाजन भए पनि आफूहरू वर्तमान सत्तासमीकरणमै रहने सरकार पनि नछाड्ने उनले बताए । 

नयाँ समूहमा प्रतिनिधिसभाका बहुमत सात सदस्य रहेको दाबी गर्दै उनले अब छिट्टै केन्द्रीय सदस्यरूको भेला गर्ने बताए । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने बताइएको छ । आफूहरूले दल विभाजन ऐनअनुसार पार्टी गठन गरेको र बहुसंख्यक सांसद आफ्नो पक्षमा रहेकाले आधिकारिकता पाउने दाबी गरे । 



श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष

नयाँ दल बनाएका अशोक राईले आफ्नो पदाधिकारी पनि तोकेका छन् । प्रस्तावित अध्यक्षमा अशोक राई छन् । संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष तोकिएको छ ।

नयाँ दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन् । सुशीला श्रेष्ठ अध्यक्ष अशोक राईकी श्रीमती समेत हुन् ।

महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह समेत नयाँ दलतिर लागेका छन् ।

  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार २१:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया