logo-img

संरक्षण अभावमा ओझेलमा पर्ने खतरामा चुरे क्षेत्रका प्राकृतिक ताल

चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको नाइल ताल, चुरे गाउँपालिका–४ मा रहेको कुटेबन्ध, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने पाण्डव, बेलकोट, भीमदत्त नगरपालिका–९ मटैनामा रहेको झिलमिला ताल, डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने आलिताल र बोडापती ताल चुरे क्षेत्रमा पर्ने गरेका छन् । 

कैलाली, कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नाइल ताल ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए ।  

कञ्चनपुरको उत्तरी चुरे भेगका चारैतिर डाँडाकैबीचमा अवस्थित झिलमिला ताल समुद्र सतहदेखि ६ सय ८० मिटर उचाइमा रहेको छ । सो तालको विशेषता हिउँद, गर्मी अथवा वर्षात्मासमेत पानी फोहोर नहुने जनाइएको छ । धार्मिक, पर्यटकीय ऐतिहासिकरूपमा रहेको बेदकोट ताल संरक्षण अभावमा ओझेलमा परेको जनाइएको छ । कञ्चनपुर र डडेल्धुराको सिमाना चुरे पर्वतसँगै रहेको सो तालमा पछिल्लो पटक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको जनाइएको छ ।

आलिताल गाउँपालिका–३ मा रहेको धार्मिक महत्व बोकेको आलितालको लम्बाइ १ हजार १ सय ७५ मिटर तथा चौडाइ करिब चार सय मिटर रहेको छ । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहोर पदार्थ तालमा जम्मा हुँदै जान थालेपछि दिन प्रतिदिन साँघुरिदै गएको स्थानीयको भनाइ छ ।

चुरे क्षेत्रमा रहेका ताल प्राकृतिकरूपमा रमणीयका साथै छुट्टाछुट्टै पहिचान बोकेका ताल भएकाले ती तालको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । उनले चुरे क्षेत्रमा रहेका महत्वपूर्ण तालको आफूले स्थलगत अवलोकन गरिसकेको बताए ।  



सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यान्वयन एकाइका अनुसार चुरे क्षेत्रमा अवस्थित आधा दर्जन बढी तालको पहिचान गरिएको छ । पहिचान गरिएका तालको संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिने प्रदेश पर्यटन कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।

चुरे क्षेत्रमा अवस्थित तालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले ती तालको संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने उनले बताए । रासस 



  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १३:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया