logo-img

करियरको उच्च लयमा ३५ वर्षीय नारायण, कोलकातालाई फेरि दिलाउलान् उपाधि ? [भिडियोसहित]
तस्बिर : बिसिसिआई

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा क्यारेबियन स्टार सुनिल फिलिप नारायणले सानदार प्रदर्शन गरिरहेका छन् । कोलकाता नाइट राइर्डसमा आबद्ध उनले हरेक खेलमा सानदार अलराउन्ड प्रदर्शन गरिरहेका हुन् ।

कोलकाताले ११ खेल खेल्दा आठ म्याचमा जित निकाल्नुमा नारायणको भूमिका अहम् छ । उनकै विस्फोटक ब्याटिङ र घातक बलिङको मद्दतमा कोलकाताले प्लेअफको टिकट पनि लगभग सुरक्षित गरिसकेको छ ।

३५ वर्षीय नारायण जारी सिजनको आइपिएलमा करियरकै उत्कृष्ट लयमा देखिएका छन्, यसअघि कुनै पनि ढाँचामा शतकीय पारी नखेलेका उनले आइपिएल २०२४ मा भने त्यो उपलब्धि हासिल गरे ।

नारायणले यस संस्करणमा ११ खेलमा १८३.६६ को सानदार स्ट्राइक रेटमा ४ सय ६१ रन बनाएका छन्, त्यसक्रममा उनले एक शतक र तीन अर्धशतकीय पारी खेलेका छन् । नारायणले यसपटक लगातार ओपनिङमा मौका पाइरहेका छन् । र, उनले आफूलाई प्रमाणित पनि गरिरहेका छन् । 

गत सिजनको आइपिएलमा नारायणलाई केही खेलमा मात्र ओपनिङमा प्रयोग गरिएको थियो । तर, यसपटक गौतम गम्भीर कोलकातामा मेन्टरको रूपमा जोडिएपछि नारायणले निरन्तर ओपनिङ ब्याटरको जिम्मेवारी पाइरहेका छन् । उनले पावर प्लेको सही सदुपयोगका साथै ठूलो इनिङ खेलिरहेका छन् ।



नारायण अहिले सर्वाधिक रन बनाउने सूची अर्थात् ओरेन्ज क्याप दौडको तेस्रो स्थानमा छन् । कोलकाताले प्लेअफ खेल्ने लगभग पक्का भइसकेकाले उनीसामु आइपिएल २०२४ मा ओरेन्ज क्याप जित्ने सुनौलो मौका छ ।



आइपिएल करियरको कुरा गर्दा उनले सन् २०१२ मा कोलकाताबाट डेब्यू गरेका थिए । त्यसपछि नारायणले कोलकाताको साथ छौडेका छैनन् । उनले डेब्यू सिजनमै कोलकातालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । सो सिजनमा नारायणले १५ खेलमा २४ विकेट लिए । उनले २०१३ मा २२ तथा २०१४ मा २१ विकेट लिए । 

नारायणले २०१५ मा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । सो सिजनमा उनले ८ खेलमा ७ विकेट मात्र लिए । यस्तै, नारायणले २०१६ मा ११, २०१७ मा १०, २०१८ मा १७ तथा २०१९ मा १० विकेट हात पारे ।

त्यस्तै, उनले २०२० मा ५, २०२१ मा १६, २०२२ मा ९, २०२३ मा ११ तथा २०२४ मा ११ खेलमा १४ विकेट लिएका छन् । समग्रमा नारायणले १७३ आइपिएल खेलमा ६.७२ को इकोनमीमा १७७ विकेट लिएका छन् ।

उनी आइपिएलमा सर्वाधिक विकेट लिने विदेशी स्पिनर हुन् । ब्याटिङको कुरा गर्दा नारायणले सन् २०१७ देखि राम्रो प्रदर्शन गर्न लागेका हुन् । उक्त सिजनमा उनले २२४ रन बनाए ।

यस्तै, नारायणले २०१८ मा ३५७, २०१९ मा १४३ र २०२० मा १२१ रन जोडे । २०२१, २०२२ र २०२३ मा भने उनको ब्याट चल्न सकेन । नारायणले यसपालि भने ११ मा ४६१ रन बनाएका छन् । समग्र आइपिएल करियरमा हालसम्म उनले १५३ इनिङ्समा १ हजार ५०७ रन बनाएका छन् । 

आइपिएलमा सानदार प्रदर्शन गर्दै आएका नारायणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा भने लामो समयसम्म देख्न पाइएन । उनले वेस्ट इण्डिजका लागि ६५ ओडिआई, ५१ टी–२० आई र ६ टेस्ट म्याच मात्र खेलेका छन्, नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् ।

जारी आइपिएलमा उच्च लयमा देखिएपछि उनले संन्यास फिर्ता लिएर विश्वकप खेल्ने धेरैको अनुमान थियो । तर, हालै सार्वजनिक एक अन्तर्वार्तामा नारायणले संन्यास फिर्ता लिएर विश्वकप खेल्ने आफ्नो कुनै पनि चाहना नरहेको बताएका छन् ।

उनले वेस्ट इण्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीलाई आफ्नो सधैं समर्थन रहेको पनि उल्लेख गरेका छन् । नारायण वेस्ट इण्डिजले सन् २०१२ को टी–२० विश्वकप जित्दा टोलीमा थिए । वेस्ट इण्डिजलाई उक्त विश्वकप उपाधि दिलाउनेक्रममा उनले फाइनलमा ३.४ ओभरमा ९ रन मात्र दिएर ३ विकेट लिएका थिए । 

  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १४:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया