logo-img

वामदेव गौतमलाई एमालेमा ‘फर्किन’ हतारो, ओलीलाई भने- पार्टी फुटाउँदिन शङ्का नगर्नू
फाइल तस्बिर

नेता वामदेव गौतमले आफू एमालेमै जान चाहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बामदेवले एमाले फुटाउँछ भनेर शङ्का नगर्न आग्रह गरेका छन् । 

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा एकै मञ्चमा रहेका ओलीलाई नेता गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शङ्का नगर्न ओलीलाई आग्रह गरे । उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्म आलोचना गरेको भन्दै एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे । 

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन् म बाट पनि भयो र मैले त्यो महसुस गरे । पछिल्लो पटक दुई वटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो,म कतैतिर पनि लागिन । तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने बामदेव हो भने,’ उनले थपे, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि,केही हुन्छ कि भनेर मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु ?’  

वामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको चर्चा गरे । उनले पार्टीले निष्कासन गरेपछि कुनै उपाय नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्म आलोचना गरी फर्किएको भन्दै अहिले नेकपा एमाले फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पारे  । 

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्म आलोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शङ्का गरेको भन्दै थपे, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिए, मलाई कमान्डर बनाउनु भयो भने फेरी त्यस्तै हुन्छ कि,धेरै समर्थक आए भने फेरी पार्टी फुटाइदिने हो कि बामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस् ।’

गौतमले सँगै मञ्चमा आसीन ओलीलाई लक्षित गरेर एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जीवन छउन्जेल क्रियाशील हुन चाहेको भन्दै थपे, ‘त्यसै बामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस् न । के गर्नुहुन्छ हेर्दै जाऊँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झन्डा ओढ्न पाउनुपर्छ । मेरो चाहना यत्ति हो ।’



उनले एमालेमा जान हतारो गर्दै भने, ‘मलाई सुनिदिनु भयो विचार मन्थन गर्नुहोला र कमरेड केपी ओलीलाई छिटो भन्दा छिटो एमालेमा ल्याऊ भन्नुहोला ।’ 



  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १६:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया