logo-img

सत्राैँ शताब्दीमा सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।

सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीयकाे भनाइ छ । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने देखिन्छ ।

उक्त तोपमा केही दिन अगाडि क्षति पुगेको थियो । तोप तोडफोड भएको जस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताए । तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उनले बताए । 

तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृंगिसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । 
 
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । 

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृंगिसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृंगिसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको जानकारहरु बताउँछन् ।

तनहुँसुरमा हालैमात्र खड्ग कालिका मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा ०७८ चैतदेखि पुनःनिर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको ०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनःनिर्माण गरिएको हो । 



केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीयस्थलका रुपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताए । उनका अनुसार यहाँ सामुदायिक घरबास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ । 

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौंलगायतका ठाउँमा बसाइँ सरेर गएका थिए । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।



  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १६:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया