logo-img

एमआइटी कलेजलाई शिक्षा मन्त्रालयले किन सोध्यो स्पष्टीकरण ?

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौंको बागबजारस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) कलेजलाई स्पष्टीकरण सोधेको छ ।

गत वैैशाख ६ गते ‘विश्वविद्यालयमै नभएको कोर्स पढाउँदै एमआइटी कलेज, ठगिँदै विद्यार्थी’ शीर्षकमा समाचार प्रकाशन भएपछि शिक्षा मन्त्रालयले यसबारे सत्यतथ्य प्रमाण उपलब्ध गराउन कलेजलाई १२ वैशाखमा स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेको शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाका उपससचिव परशुराम तिवारीले जानकारी दिए । उनका अनुसार कलेजले निर्धारित समयभित्र स्पष्टीकरणसहितको पत्र मन्त्रालयमा पेस गरेको छ । कलेजले पेस गरेको स्पष्टीकरणसम्बन्धी मन्त्रालयले अध्ययन गरिरहेको उपसचिव तिवारीले जानकारी दिए । कलेजले चित्तबुझ्दो स्पष्टीकरण नपठाएर कारबाहीको प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको सम्बन्धनमा सञ्चालित एमआइटी कलेजले सञ्चालन गरिरहेको ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बिआइटी) कोर्सले मान्यता नपाएको प्रमाण फेला पारेपछि सोही विषयमा फरकधारले समाचार प्रकाशन गरेको थियो । 

इन्टरनेसनल अमेरिकन युनिभर्सिटीले ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बिआइटी) कोर्स अध्यापनका लागि मान्यता नपाउँदै एमआइटीले शिक्षा मन्त्रालयबाट कोर्स सञ्चालन अनुमति लिएर पढाइ सुरु गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको पाइएको थियो ।

विश्वविद्यालयमै नभएको कोर्स पढाउँदै एमआइटी कलेज, ठगिँदै विद्यार्थी [भिडियोसहित]



विश्वविद्यालयले नै आफ्नो बेवसाइटमा स्पष्ट रूपमा उक्त कोर्सले (टिआरएसिएस)बाट स्वीकृति पाएको, तर स्टेट अफ क्यालिफोर्निया ब्युरोको प्राइभेट पोस्ट सेकेण्डरी एजुकेसनमा स्वीकृतिका लागि विचाराधीन रहेको उल्लेख गरेको थियो । विश्वविद्यालयले आफ्नो वेबसाइटमा ‘स्टार’ राखेर कोर्सबारे उक्त कुरा उल्लेख गरेको थियो ।

एमआइटीलाई सम्बन्धन दिएको विश्वविद्यालयले नै मान्यता नपाएको कोर्स अध्यापन गराउनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत मिलेमतो देखिएको छ । किनभने विश्वविद्यालयलाई बिआइटी कोर्स थपका लागि टिआरएसीएसले सन् २०२४ फेब्रुअरी १३ मा अनुमति दिएको छ । 



तर, कलेजले २०८० भदौ ४ अर्थात् सन् २०२३ अगस्ट २० मा शिक्षा मन्त्रालयबाट उक्त कोर्स सञ्चालनका लागि अनुमति लिएको छ ।

  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १७:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया