logo-img

शंकर पोखरेलको दाबी : सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भए
‘जसपाका सांसदको विद्रोह विधिसम्मत र स्वाभाविक’
फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षडयन्त्रको प्रतिरोधमा सांसद नै उत्रिएर पहल लिन थालेको समेत बताए ।

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदले नै असफल पार्न सक्रिय भएको दाबी गरे ।  

‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर, त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैंले पनि संगठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरूपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

जसपाका सांसदको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको टिप्पणी गरे । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो,’ पोखरेलले भने, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत ढंगबाटै अघि बढ्नुपर्छ । त्यसकारण अहिले जे भयो, त्यो कानुनीरूपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’ 

उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन-०८४ को अभियान चलाएको बताए । ‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरूको हस्तक्षेप बढ्ने रहेछ,’ पोखरेलले भने, ‘त्यसकारण हामी नेकपा एमालेलाई यो देशको ठूलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहन्छौं । त्यसैका लागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानको रूपमा अघि बढाएको छ ।’

उनले अहिले एमालेले भागबण्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन-०८४ मा ध्यान लगाएको बताए । ‘हामीले भागबण्डाको राजनीतिलाई महत्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यहीकारण अहिले एमालेले सरकारमा महत्वपूर्ण मन्त्रालय बुझ्नेभन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसाबले अघि बढेका छौँ,’ पोखरेलले भने ।   





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ८:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया