logo-img

अनुदान पाएपछि बाख्रापालनमा आकर्षित हुँदै चेपाङ समुदाय
फाइल तस्बिर

चितवनको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिकरूपमा बाख्रापालन गर्ने योजनामा छन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनी बताउँछिन् ।

‘छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर  सम्पन्न भएको छ,’ स्मृतिले भनिन् । 

उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । स्मृतिले यस वर्ष छवटा खसीबोका बिक्री गरेर ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताउँछन् । ‘गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु,’ उनले भनिन् । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन  कृषि र पशुपालनमा जोड दिएको बताए । इच्छाकामनामा प्रशस्त घाँसे जङ्गल भएकाले  समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्गे आम्दानी गर्न सकिने उनले बताए । बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उनी बताउँछन् । अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्याउने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले बताए । बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्र्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने बस्नेत बताउँछन् । 



गाउँपालिका पशु शाखा प्रमुख डा. सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए ।

गत आवमा २ सय ८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०/५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए । रासस



  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ११:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया