logo-img

चितवनका केराले पाउन थाल्यो बजार, किसान दङ्ग
फाइल तस्बिर

पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले खुसी देखिन्छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागिरहेका छन् ।

भट्टले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । ‘विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ,’ उनले भने । यहाँको केराले बजार धान्ने अवस्था रहँदा पनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको भट्टले बताए । केरामा नै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौं, पोखरा र बुटवल जाने गरेको बताउँछन् ।

अझै  थप पाँच बिघा क्षेत्रफलमा केरा खेती विस्तारका लागि काम गर्दै आएको उनले सुनाए । केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताए । भारतीय केराका कारण यहाँको उत्पादन विस्थापित हुने हो की भन्ने चिन्ता रहँदै गर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि आफूहरूलाई राहत मिलेको उनको भनाइ छ ।

रत्ननगरका विष्णुप्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताए । ‘सिँचाइ सुविधा भएको ठाउँमा त ठिकै होला तर हामीजस्ता १/२ बिघा क्षेत्रमा केरा लगाउने किसानलाई खडेरीले असर गरेको छ,’ भट्टराईले भने । केरामा मल हाल्नका लागि आकासे पानी कुरेर बस्न परेको उनको भनाइ छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भए पनि उत्साह भने भई हाल्ने स्थिति नभएको बताउँछन् ।

यहाँ उत्पादन भएका मालभोग र जी नाइन जातका ठूला साइजका सग्ला केरा बिक्रीमा समस्या नभए पनि साना साइजका केरा भने  नबिकेको भट्टराईको भनाइ छ । लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उनले भने, ‘धेरै साथीहरूले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन ।’  भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उनको भनाइ छ ।

जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुबै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिए । 



यद्यपि लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उनले बताए ।

कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताए । उनले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उनले जानकारी दिए ।



यस समयमा नेपाली केराले बजार धान्ने उनको भनाइ छ । ढुङ्गानाका अनुसार जिल्लामा वार्षिक ५६ हजार ४ सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । रासस 

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १२:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया