logo-img

बाेक्सी आरोपमा ससुराले दिए बुहारीलाई चरम यातना

पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताएकी छिन् ।

ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन् ।

पूजा भागेर अहिले माइतीको शरणमा पुगेकी छिन् । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनको भनाइ छ ।

यद्यपि, पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ । 

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पूजाको दुःखेसो छ । सासूबाट समेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखिन् । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाइन् । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १७:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया