वीरगन्ज नाकाबाट खजुरको तेल उच्च निकासी
फाइल तस्बिर

वीरगन्ज नाकाबाट गत आवमा ११ अर्ब ७२ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरको १० करोड ७५ लाख ३५ हजार १७ लिटर खजुरको प्रशोधित तेल निकासी भएको छ । अघिल्लो आवमा ६ अर्ब ७० करोड ५९ लाख ९० हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ७६ हजार ७ सय ६ लिटर खजुरको प्रशोधित तेल निकासी भएको थियो । 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक हेर्दा अघिल्लो आवभन्दा गत आवमा खजुर तेलको निकासी दोब्बरले बढेको छ । उच्च निकासी भएको खजुरको प्रशोधित तेल यो नाकाबाट निकासी वस्तुमध्ये अग्रस्थानमा परेको छ । 

यो नाकाबाट भटमासको प्रशोधित तेलको निकासी भने ५ गुनाले बढेको छ । गत आवमा यो नाकाबाट ८ अर्ब २४ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको ६ करोड १५ लाख ५० हजार ९ सय ८३ लिटर भटमासको तेल निकासी भएको छ । अघिल्लो आवमा १ अर्ब ५९ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ६ सय ९२ किलो भटमासको तेल निकासी भएको थियो । पर्सा बारा औद्योगिक करिडोरकै एक दर्जन उद्योगले यो तेल निकासी गर्छन् । 

सर्वाधिक निकासी भएका वस्तुमा भटमासको तेल तेस्रो नम्बरमा परेको छ । दुवै तेलको मुख्य बजार भारत हो । भारतले २ वर्षयता यी वस्तुको आयात आफ्नो मुलुकमा खुला गरेको छ । उसले आफ्नो बजारको माग आन्तरिक उत्पादनले धान्न नसक्ने अवस्था आएपछि मात्र नेपालबाट आयात खुला गर्ने गरेको छ । 

वीरगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख गोपाल खत्रीले ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डानेसिया लगायतका मुलुकबाट खजुरको कच्चा तेल आयात हुने गरेको बताए । आन्तरिक बजारका लागि खपत गर्न यसको आयात गर्दा मूल्यको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको उनले बताए । तर निकासी प्रयोजनका लागि आयात गर्दा भने बैंक ग्यारेन्टीमा यसको आयात गर्न सकिन्छ । यसरी आयात गर्दा यसमा भन्सार शुल्क लाग्दैन ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार ११:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया