logo-img

नेपालले एक वर्षमा करिब एक अर्बको बिजुली भारत निर्यात

नेपालले आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको नेपाल  विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो ।

आव २०७५/७६ मा ३ करोड ४७ लाख रुपैयाँको विद्युत निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पुर्‍याएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ । यो कुल आयातको तुलनामा ६ प्रतिशत बराबर हो ।

गत आवको असोजमा सबैभन्दा बढी २ करोड ९६ लाख युनिट ऊर्जा भारत निर्यात भएको थियो । वैशाखमा सबैभन्दा कम १० हजार युनिट ऊर्जा निर्यात गरिएको थियो । कुशहवा-कटैया, परवानीपुर-रक्सौल, ढल्केबर-मुजफ्फरपुर र रामनगरबाट विद्युत भारत निर्यात गरिएको हो ।

भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ । देश जतिबेला १४ घण्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कुल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात गर्नुपर्ने अवस्थामा थियो ।

गत आवसम्म आइपुग्दा कुल उपलब्ध विद्युतको २२ प्रतिशत मात्रै आयात भएको छ, चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहने प्राधिकरणले जनाएको छ । आव २०७८/७९ बाट नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने बताइएको छ ।

नेपाल-भारतबीच करिब ३५० मेगावाट विद्युत् प्रवाह हुनसक्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई करिब १५०० मेगावाट पुगेको छ। न्यु बुटवल-गोरखपुर मैनहिया-सम्पत्तिया, इनरुवा-पूणिर्या, लम्की-बरेली, कोहलपुर-नानपाराजस्ता नेपालभारत बीचको अन्तरदेशीय प्रसारण लाइनहरु अध्ययन एवं कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् ।



नेपाल र चीनबीच रातोमाटे-रसुवागडी-केरुङ ४०० केभी प्रसारण लाइननिर्माणका लागि प्राधिकरण र स्टेट ग्रिड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भई नेपालतिरको लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ । अन्तर देशीय विद्युत व्यापारको लागि महत्वपूर्ण मानिएको ढल्केवर सवस्टेसनमा ४००/२०० केभी, ३१५ एमभीए क्षमताको ३ थान ट्रान्सर्फमर जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

सबस्टेसनमा जडान गरिएका उपकरणको जडानका लागि चीनबाट ल्याइएको उपकरण केरुङबाट ल्याउन नसक्दा परीक्षण अगाडि बढ्न सकेको छैन ।



विशेष सुरक्षा प्रणाली तथा सूचना प्रणाली जडान गरी नेपालको राष्ट्रिय प्रसारण ग्रिड र भारतको प्रसारण गि्रड सिङ्क्रोनाइजेसन गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।

अत्पकालीन,  मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार लगायत डे अहेड र टर्म अहेडमा सहभागी हुने र अन्य सबै किसिमको अन्तरदेशीय विद्युत व्यापार गर्न नेपाल सरकारबाट प्राधिकरणलाई पूर्व स्वीकृति प्राप्त भएको छ । अब भारत सरकारको सहमति पश्चात् प्राधिकरणले नेपालमा उपभोग हुन नसक्ने अतिरिक्त ऊर्जा सम्वन्धित पक्षसँग समन्वय गरी विद्युत भारतीय बजारमा बिक्री गर्न सक्नेछ ।

सो व्यवस्थाले नेपाल र भारत बीचको अन्तरदेशीय विद्युत व्यापारमा नयाँ युगको सुरुवात भएको र यसबाट दुवै देशले मौजुदा प्रसारण क्षमताको उपभोग, प्रविधि हस्तान्तरण, प्रणाली सन्तुलन लगायतका विविध विषयमा प्रचुर फाइदा लिन सक्ने अवस्था सिर्जना भएको छ ।

  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १२:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया