प्रदेश–२ मा दुई नेताको आडम्बरः सरकारी पैसामा शक्ति प्रदर्शन

गत वर्ष डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक मानिसमा कोरोनाभाइरस संक्रमण देखियो । नेपालमा अहिले यही कोरोनाभाइरसका कारण निकै ठूलो प्रभाव देखिएको छ, झन्डै चीनमा जत्तिकै कोरोना संक्रमित अब नेपालमा पनि पुगेका छन् ।

नेपालमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित प्रदेशमध्ये एक हो, प्रदेश २ । 

झन्, सबैभन्दा पहिले नेपालमा प्रदेश २ कै विभिन्न ठाउँहरु हटस्पट झैं चर्चित पनि भए । अझ विडम्बना त के भने गत चैतदेखि नेपालमा लकडाउन सुरु भए यता पछिल्लो समय सबैभन्दा बढी हत्या र हिंसाका घटना प्रदेश २ मा भइरहेका छन् ।

एकातिर तथ्यांक यस्तो भनिरहेको छ, अर्कोतिर प्रदेश २ मा सरकारमा सामेल मन्त्री तथा नेताहरु आफ्नो शक्ति देखाउन अहिलेको यो विषम परिस्थितिमा सभा र भेला गरिरहेका छन् । अझ दुःखद त के भने यसमा सहभागी नै छन्, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत ।

अनि उनलाई काउन्टर दिन पछाडि परेका छैनन्, प्रदेश २ कै भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल ।

यसका लागि प्रमाण हुन्, यी दुई नेतानिकटले पछिल्लो समय आफ्नो सामाजिक सन्जालमा राखिरहेका तस्वीर र प्रदेश २ का विभिन्न ठाउँमा गरिरहेका कार्यक्रम । 



कोरोना महामारीलाई बेवास्ता गर्दै हात जोड्दै विभिन्न ठाउँमा यी दुई नेता देखिनुको पछाडि अहिले प्रदेश २ को राजनीति थप गर्मिएको पनि आभास गर्न सकिन्छ । 

केही दिनअघि मुख्यमन्त्री लालबाबु राउत वीरगन्जमा पुगे । वीरगन्जका विभिन्न ठाउँमा पुगेका राउतले आफ्नै सरकारले लगाएको वा केन्द्र सरकारले दिएको निर्देशनलाई पनि भुसुक्कै बिर्सिए । अहिले केन्द्र सरकारले सभा र भेला नगर्न अनुरोध गरेको छ । तर, राउत आफ्नो वरिपरि दर्जनौँ कार्यकर्ता तथा समर्थकको ताँती लगाएर विभिन्न कार्यक्रम गरिरहेका छन् । 



अर्कोतिर, उनलाई काउन्टर दिइरहेका छन्, भौतिक मन्त्री जितेन्द्र सोनल ।

सोनल पनि प्रदेश २ कै सप्तरीका विभिन्न ठाउँमा त्यस्तै भीड लिएर पुगिरहेका छन् । सोनलले यी ठाउँमा अझ बढी ध्यान केन्द्रित गर्नुको कारण हो, उनकै पार्टीका नेता उपेन्द्र यादवको जन्मस्थान सप्तरीमा हुनु । जनता समाजवादी पार्टीमा मिसिएिका दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका यी दुई नेताले आआफ्नो शक्ति प्रदर्शन गरेर अर्को पटक पनि आफू नै सत्तामा हुने सन्देश दिन यस्ता कार्यक्रम गर्न थालेको अनुमान तथा विश्लेषण प्रदेश २ कै अन्य सांसदहरुले पनि गर्न थालेका छन् ।

‘यस्तो परिस्थितिमा पनि यी दुई नेताहरु सरकारी खर्चमै यसरी भीड बटुल्दै आआफ्नो शक्ति प्रदर्शनमा लाग्नु कदापि ठिक होइन,’ प्रदेशको २ को सत्तारुढ दल जनता समाजवादी पार्टीकै नेता मनीष सुमन भन्छन्, ‘अहिले बुझ्दा लाग्छ, यो भीड प्रदर्शन त काठमाडौंलाई देखाउन गरिएको हो ।’

सुमनको विश्लेषण अनुसार काठमाडौंमा रहेका जसपा र अन्य पार्टीका नेताहरुलाई यी दुई नेताले आफ्नो पक्षमा जनलहर भएको देखाउन चाहन्छन् । 

फेरि यसमा भोलिको प्रदेश २ को सरकार कसको नेतृत्वमा बन्ने भन्ने राजनीतिक अभिष्ट पनि रहेको सुमनको विश्लेषण छ । 

‘पार्टी एकता भएपछि अब संसदीय दलको नेता छान्नु पर्ने बेला आएको छ,’ सुमनले भने, ‘अब जसले संसदीय नेतामा आफूलाई ल्याउँछ, उसैले यो प्रदेश सरकारको नेतृत्व पाउनेछ । त्यही भएर हुनुपर्छ, यी दुई नेता यो खेलका लागि यस्तो वार्मअप गरिरहेका छन् ।’

यो वार्मअपमा सुमन किन पनि गल्ती देख्छन् भने उनीहरुले अहिले पनि प्रदेश सरकारकै बजेटको दुरुपयोग गरिरहेका छन् । ‘प्रदेशमा अनेक समस्या छन्, कोरोना महामारीको समस्या त्यस्तै छ,’ सुमनले फरकधारसँग भने, ‘तर, यी दुई नेता प्रदेशकै बजेटमा आफूलाई बलियो बनाउने खेल खेलिरहेका छन् ।’

प्रदेश २ का अर्का सांसद ज्वाला साहले पनि यी दुई नेताले गरेका पछिल्ला क्रियाकलाप आलोचना गर्नुपर्ने विषय भएको बताउँछिन् । 

‘अबको मुख्यमन्त्री बन्छु भन्ने अभिप्राय राख्नकै लागि यी दुई नेताले गरेको यो काम कदापि स्वीकार्य हुँदैन,’ उनले फरकधारसँग भनिन्, ‘यसले गलत सन्देश मात्र दिँदैन, जननिर्वाचित प्रतिनिधिको गलत स्वार्थ पनि छर्लङ्ग पार्छ ।’

अर्थात्, अब राजपा र सपा मिलेर जसपा बनेपछि प्रदेश २ मा केही हेरफेर आउन सक्ने पूर्वानुमानका कारण यी दुई नेताले यस्तो गर्न थालेका हुन् । यी दुई दल एकतापछि अब प्रदेशमा नयाँ संसदीय दलको नेता छान्नुपर्ने वाध्यतामा जसपा छ । त्यसैले जसपा बन्नुअघि दुई दलका यी दुई नेता आआफ्नो शक्ति प्रदर्शनमा उत्रिएका हुन् ।

‘मुख्यमन्त्री र मन्त्रीका आकांक्षीले त सडकमा होइन, संसदमा प्रतिस्पर्धा गर्नु पर्ने हो,’ विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘त्यो पनि आफ्नो कामको हिसाबमा । तर, कोरोना महामारीमा उनीहरु यस्तो प्रतिस्पर्धामा उत्रिएका छन्, जुन एकदमै गलत हो ।’

  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १४:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया