logo-img

चिनी मिलबाट २४ लाख बक्यौता उठाउन नपाउँदै प्राण त्यागे नारायणले
बैंकमा ऋण मात्रै १८ लाख पुगेको थियो

काठमाडौं : काठमाडौंको माइतीघर मण्डलमा १६ दिनसम्म आन्दोलनमा सहभागी एकजना उखु किसानको घर फर्किन नपाउँदै ज्यान गएको छ। १६ दिन लामो आन्दोलन टुंग्याउन उद्योग मन्त्रालय र किसानबीच सम्झौता भएको भोलिपल्टै उखु किसान ६५ वर्षीय नारायण राय यादवको हृदयघातबाट निधन भएको हो। 

चिनी मिलबाट उखुको बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघर मण्डलमा भएको आन्दोलनमा सहभागी सर्लाहीको धनकौल गाउँपालिका छोटौल निवासी नारायण राय यादव (भगतजी) को हृदयघातबाट मंगलबार गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो। नारायणले चिनी मिलबाट २४ लाख बक्यौता उठाउन बाँकी थियो भने १८ लाख ऋणमा परेका थिए। 

चिनी मिलबाट बक्यौता नलिइ घर नफर्किने भन्दै काठमाडौंमा आन्दोलनरत उनलाई हृदयाघात भएपछि मंगलबार बिहान चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा लगिएको थियो। उखु किसान मुकेश ठाकुरका अनुसार हेल्पिङ हेन्ड्सबाट गंगालाल पुर्‍याएपछि नारायणले ज्यान गुमाएका हुन्। 

चिसो मौसममा १६ दिनसम्म आन्दोलन टुङ्ग्याउँदै सोमबार सम्झौता भएपछि बक्यौता पाउने आशमा खुसी भएका नारायण घर पुग्‍न पाएनन्। उद्योग मन्त्रालयमा सम्झौता भएपछि घर जाने तयारीमा रहेका उनको निधन भएपछि शव दाहसंस्कार तयारी भइरहेको ठाकुरले बताए। 

जनता समाजवादी पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्रका अनुसार २४ लाख बक्यौता उठाउन आन्दोलन थालेयता उनले हालसम्म डेढ लाख रुपैयाँ मात्रै पाएका छन्। बैंकबाट उखु खेती थालेका उनको ऋण नै १८ लाग पुगिसकेको छ। बैंकले ताकेता गरेपछि घर जग्गा गुमाउने अवस्थामा पुगेका उनी अन्य कृषक साथीसँगै काठमाडौं आएका थिए। पैसा नपाउन्जेल उनी आन्दोलन नरोक्ने पक्षमा थिए। 

तर वक्यौता उठाउने ग्यारेन्टी नहुँदै सोमबार ४ बुँदे सम्झौता भएपछि उनी चिन्तित थिए। 'सम्झौतापछि पनि उनी पैसा नउठ्ने चिन्तामा थिए', मिश्रले भने, 'तर तनावै तनावमा उहाँले काठमाडौंमै प्राण त्याग्नु भयो।' 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १४:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया