मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावरले आतंक मच्चाएको छ । मनहरी गाउँपालिकाको विभिन्न भेगका बासिन्दा जंगली हात्ती र बाघको आतंकबाट प्रताडित भएका छन् । 

मनहरी गाउँपालिकाको ७ नम्बरको बगर क्षेत्र र रमौली गाउँका आसपासका मध्यवर्ती क्षेत्रमा बाघले घरपालुवा जनावरलाई आक्रमण गरेको छ । केही दिनयता बाघको आक्रमणबाट स्थानीय ईश्वर राईको भैँसी, अर्का एक किसानको गाई र बाख्रा मारेको छ । दिनदहाडै बाघले पशुचौपाय मार्न थालेपछि स्थानीय आतंकित बनेका छन् । 

यसैबीच मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट बच्नका लागि ड्यामसाइडमा हुने गरेको मर्निङवाकलाई रोक्न अनुरोध गरेको छ । समितिका अध्यक्ष पदमबहादुर तितुङले सार्वजनिक सूचना प्रकाशन गरी जंगली जनावरको आक्रमणबाट बच्नका लागि सो क्षेत्रमा मर्निङवाकमा नजान आग्रह गरेका छन् । पशुचौपाय पनि चरनमा नलगी घरमै बाँधेर पाल्नका लागि उनले अनुरोध गरेका छन् । 

‘बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्छ,’ अध्यक्ष तितुङले सूचनामा भनेका छन्, ‘ड्यामबाहिरको सिसौघारीतर्फ बाघ आउने–जाने गरेको पाइएको छ ।’ दुई वर्षअघि सोही जंगलमा मनहरी ७ कै एक महिलालाई बाघले मारेको थियो । 

यस्तै, गत हप्ता पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रबाट आएको एक जंगली हात्तीले मनहरी–५ बस्तीपुरको जन्जरा बस्तीका करिब एक दर्जन घरमा क्षति पुर्याएको छ । जंगली हात्तीले दुःख दिएपछि स्थानीयहरु त्रसित भएका छन् । 

मनहरी गाउँपालिका ५ बसन्तपुरमा हात्तीको आक्रमणबाट ७ वटा घर भत्किएका छन् । घरमा रहेको धान, मकैलगायत खाद्यान्न खानका लागि जंगली हात्तीले घर भत्काउँदा बस्तीमा आतंक फैलिएको स्थानीय युवा कृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार गत मंसिर महिनादेखि नै हात्ती बस्तीमा आउन थालेको हो । स्थानीय हरि मिजार, साने मिजार, सुनिल मिजारलगायत स्थानीयबासिन्दाको घरमा रहेको खाद्यान्न हात्तीले खाइदिएको र घरमा क्षति पुर्याएको लामिछानेले बताए । 



हरेक वर्ष पर्सा राष्ट्रिय निकुन्जबाट राप्तीखोला तरेर हात्ती, गैँडा, बाघ, चित्तल, मृग, बँदेललगायत वन्यजन्तु महेन्द्र राजमार्ग छेउमा रहेको मध्यवर्ती क्षेत्रका बस्तीहरुमा आउने गरेको छ ।



  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १९:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया