logo-img

के कांग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउला ?

मंगलबार नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसले अविश्वास प्रस्ताव ल्याउने बताए । कांग्रेसले ल्याउने उक्त प्रस्तावमा आफूहरुले समर्थन गर्ने पनि नेपालले बताएका छन् ।

नेपालको सो भनाइले २३ गते बस्न लागेको प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना बलियो देखिएको छ । यद्यपि, नेपाली कांग्रेसले अहिलेसम्म यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, बुधबार चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने, तर जिम्मेवारी काँधमा आएमा पछि नहट्ने बताएका छन् । 

बुधबार नै चितवनमा कांग्रेस महामन्त्री शशांक कोइरालाले पत्रकारसँग कुरा गर्दै दाहाल–नेपाल पक्षको साथ लिएर  कांग्रेस सरकारमा जान सक्ने बताएका थिए । महामन्त्री प्रतिनिधिसभा विघटनपछि दुई खेमामा विभाजित नेकपाका दुईवटै खेमालाई वैधानिकता दिन पनि कांग्रेस सरकारमा जानुपर्ने बाध्यता आइपरेको कोइरालाले बताएका छन् । दाहाल–नेपाललाई साथ दिएर सरकारको नेतृत्व गरेमा नेकपा फुट्ने निश्चित रहेको कोइरालाको दाबी छ । 

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल–नेपाल पक्षले काग्रेससँग सहकार्यका लागि प्रस्ताव राखेको थियो । आन्दोलनमा सँगै नगए पनि प्रचण्ड र नेपालले सार्वजनिक रुपमै कांग्रेस सभापति देउवालाई आगामी सत्ताको नेतृत्व दिन तयार रहेको बताउँदै आएका छन् । 

सोही सिलसिलामा सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि १२ गते प्रचण्ड र नेपाल कांग्रेस सभापति देउवाकहाँ पुगेका थिए । सो भेटमा उनीहरुले देउवासँग मिलेर सत्ता समीकरण बनाउने प्रस्ताव गरेका थिए । तर, देउवाले कांग्रेसले यसबारे तत्कालै निर्णय नदिने जवाफ फर्काएका थिए । 

गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले पनि नेकपाको दुवै खेमाको वैधानिकता नटुंगेसम्म आफूहरु कसैको पक्षमा नलाग्ने निष्कर्ष निकालेको थियो ।  



तर, बुधबार चितवनमा महामन्त्री कोइरालाले आफूहरु सरकारमा नगए नेकपा नै नफुट्न सक्ने भएकाले अब सरकारमा जान सक्नेबारे सोच्नुपर्ने बताए । महामन्त्री कोइरालाको भनाइ बाहिरिएको केही घण्टापछि नै चितवनमै आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले कांग्रेसले सत्ताका लागि मरिहत्ते नगर्ने, तर जिम्मेवारी आइपरेमा पछि पनि नहट्ने उल्लेख गरे । ‘अरुले आएर सत्ता चलाइदिनुपर्यो भनेपछि के गर्ने ?’ देउवाले प्रश्न गर्दै भने, ‘एउटा जिम्मेवार राजनीतिक दलको नेताको हैसियतले त्यसबाट पछि हट्न मिल्दैन ।’ 

त्यही कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि नहट्ने बताए । उनले आफूहरुको संख्या सानो भए पनि अहिले भूमिका ठूलो भएकाले जिम्मेवार भएर अघि बढ्ने बताएका थिए । कांग्रेसले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ल्याउँछ वा प्रचण्ड, नेपालसँग सहकार्य गरेर अघि बढ्छ भन्नेबारे भने उनीहरु दुवैले खुलाएनन् । कांग्रेस जिम्मेवारीबाट पछि नहट्ने भन्दै दुवै नेताले समान धारण व्यक्त गरे ।  



मंगलबारसम्म सत्ता–सहयात्राको विषयमा मौन बसेका कांग्रेस नेताहरुले बुधबारबाट मुख खोल्न थालेका छन् । २३ गतेको संसद बैठकमा नेकपा नेता नेपालले भनेझैँ कांग्रेसले नै प्रम ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजाला कि नेकपाकै प्रस्तावमा समर्थन गर्ला भन्नेमा यकिन छैन । संसद सचिवालयमा दाहाल–नेपाल पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव अघि नबढाउने भएको छ । दाहाल– नेपाल पक्षले कांग्रेस र जसपासँग संवाद गरेर नयाँ अविश्वास प्रस्ताव अघि बढाउने बताएको थियो । 

कांग्रेस र नेकपाले स्पष्ट रुपमा यसबारे अहिलेसम्म ठोस खाका सार्वजनिक गरेका भने छैनन् । यद्यपि, सबै पक्षको बीचमा अनौपचारिक छलफल चलिरहेका छन् ।  

कांग्रेसले बिहीबारै सूचना प्रकाशित गरेर शुक्रबारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रतिनिधिसभा बैठक बस्ने भएपछि पछिल्लो परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको फरकधारलाई बताए ।

उनले सत्ता समीकरण र प्रतिनिधिसभा पुनर्स्थापित भएपछि अन्य दलसँगको सहकार्यबारे अहिले छलफल नै चलिरहेको र ठोस सहमति कसैसँग नभएको बताए । ‘अहिलेसम्म कसैसँग हाम्रो कुनै ठोस सहमति भएको छैन,’ खाणले फरकधारसँग भने, ‘यद्यपि, हामी छलफलको चरणमा छौँ ।’

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया