logo-img

बंगलादेशसँग किनेको दुई हजार ५०० टन मल आज नेपाल आइपुग्ने

नेपाल र बङ्गलादेश सरकारबीच (जिटुजी) सम्झौताअनुसार पहिलो खेपको रासायनिक मल सोमबार साँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्ये पहिलो चरणमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । 

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मल मध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ । 

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ । 

पहिलो चरणमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । 

बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार  कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअनुसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।



जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो ।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महिनापछि पहिलो चरणको मल नेपाल आइपुग्न लागेको हो ।



कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई)को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

पर्याप्त मौज्दात

धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्त मात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ । 

कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरिद गरेको मलसमेत पर्याप्त छ । सुरुआती चरणमा कृषि कम्पनीको मल बिक्री–वितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरिद गरेको मलको बिक्री–वितरण सुरु हुने बताइएको छ । 

  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १६:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया