logo-img

एमाले प्रवक्ता भन्छन् : कसैलाई हटाएका छैनौँ, माओवादीसँग एकता सम्भावना सकियो

काठमाडौं : नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले तत्काललाई माओवादी केन्द्रसँग एकता टरेको बताएका छन्। फागुन २३ मा नेकपा खारेज भएर साविककै दुई पार्टी ब्यूँतिएपछि निर्वाचन आयोगले १५ दिनभित्र एकताको नयाँ प्रक्रियामा आउन एमाले र माओवादी केन्द्रलाई पत्र काटेको थियो।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा अध्यक्ष र महासचिवबाहेक अरु सबैलाई हटाएको कुरामा पनि सत्यता नभएको उनले बताए। 

'महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको होइन', उनले भने, 'नवौँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको पद यथावत छ।'

ज्ञवालीले निर्वाचन आयोगले भने बमोजिम १५ दिनभित्र माओवादीसँगको एकता अब सम्भव नरहेको बताए। '१५ दिनभित्र एकता हुने सम्भावना अब सकियो। अब चैत ७ गते एमालेको केन्द्रीय कमिटी बस्दैछ', उनले भने, 'पूर्व माओवादी धारबाट आउनु भएका २३ जना नेताहरुलाई केन्द्रीय जिम्मेवारीमा स्थापित गरिएको छ।'

उनले अहिलेलाई महाधिवेशन आयोजक समिति बनाउने बाटो खोलिएको बताए। 'कसैलाई हटाइएको छैन। आयोजक कमिटी बनाउने बाटो खोलिएको छ। अहिले भएका पदहरु यथावत नै छन्', उनले भने, 'आजको बैठकमा सबै पक्षकालाई निम्ता नपुगेको हुन सक्छ। तर चैत ७ मा सबैलाई निम्तो पुग्ने गरी बोलाउँछौँ।'

उनले एमाले अब २०७५ जेठ ३ को जस्तै नरहेको पनि बताए। 'पुन:स्थापित भए पनि २०७५ जेठ ३ को होइन, यो त नयाँ एमाले हो', उनले भने, 'यो एकता प्रयासलाई आगामी दिनमा पनि अगाडि लैजान्छौँ। तर तत्काल माओवादीसँग एकता हुने सम्भावना देखिएन।'






  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार २०:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया