जुटि नसक्दै फुटको संघारमा 'एमाले'
पेलेर जाने ओली नीति, समानान्तर कमिटीको तयारीमा झलनाथ-माधव समूह

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै ब्यूँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अब एकताको सम्भावना सकिएको छ । हिजो बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समितिको विशेष बैठकले माओवादीसँगको एकता अब तत्कालका लागि नहुने निर्णय गरेको छ । 

अदालतको फैसलापछि निर्वाचन आयोगले १५ दिनको समयसीमामा एकताका लागि आवेदन दिन भनेकोमा एमालेले एकता नहुने निर्णय गरेको हो । एमालेभित्रको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु सहभागी उक्त बैठकले केही नेताहरुको जिम्मेवारी खोस्दै नयाँ सदस्यहरु पनि नियुक्त गरेको छ । 

बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको समाचारहरु आएपछि बैठकबाट प्रवक्ता तोकिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने कुनैपनि निर्वाचित पदाधिकारीको पद नखोसिएको प्रष्टिकरण दिएका छन् । उनले अहिलेको परिस्थिति अनुकुल बनाउनका लागि बाधा अड्काउ फुकाउने निर्णयहरु मात्रै बैठकले गरेको बताएका छन् । 

बैठकपछि जारी भएको विज्ञप्तिमा पनि निर्वाचित पदाधिकारीको पद खोसिएको उल्लेख छैन । तर, बैठकले संसद विघटनपछि ओलीलाई खुलेर साथ दिएका पूर्व माओवादीका रामबहादुर थापा बादलसहितका २३ जनालाई केन्द्रीय समितिमा मनोनित भने गरेको छ । 

बालुवाटारमा केके निर्णय भए ?
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हिजोको बालुवाटार बैठकले तत्कालीन समयमा प्रचण्ड-माधव समूहमा लागेर ओलीको विरोधमा रहेका एमालेका नेताहरुलाई ससम्मान पार्टीमा आउनका लागि आह्वान गर्ने निर्णय भएको छ । यस्तै, अहिलेको परिस्थितिअनुकूल बनाउनका लागि केन्द्रीय समितिमा २३ जना सदस्य थप्ने निर्णय पनि भएका छन् । 

प्रवक्ता ज्ञवालीका अनुसार अहिले नगरी नहुने निर्णयहरु मात्रै विशेष बैठकले गरेको छ । आगामी चैत ७ गते बोलाइएको केन्द्रीय समितिको नियमित बैठकले बाँकी विषयमा निर्णय लिने भएकाले अहिलेको बैठकले तत्कालका लागि काम गर्न बाधा फुकाउने निर्णयहरु मात्रै भएको तर बाहिर आएजस्तो निर्वाचित पदाधिकारीको पद नखोसिएको प्रष्ट पारेका छन् । 



झलनाथ-माधव समूहको निर्णय
बालुवाटार बैठक सकिएलगत्तै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुको बैठक बस्यो । उक्त बैठकले ओलीको निर्णय मान्य नहुने र पार्टीको सबै संरचनामा समानान्तर कमिटी बनाएर अघि बढ्ने निर्णय लियो । उक्त समूहले ओलीको गुट बैठकले गरेको निर्णय मान्य नहुने र उक्त निर्णय अवैधानिक भएको बतायो । 

बानेश्वरको अर्याल होटलमा बसेको बैठकपछि भीम रावलले भने, ’बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह गरेको छ । हामी ओलीका कदमको प्रतिरोध गर्छौँ। अब राष्ट्रिय भेलासम्मको कदम चाल्छौँ।’ उक्त बैठकले संसद् विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको पनि रावलले बताए ।



’ओलीले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेका छन् । कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर नेकपाको रक्षाका लागि अग्रसर हुनेछौँ’, रावलले भने । २०४६ सालदेखि लगातार काम गर्ने मान्छेलाई अपमान गरेर पद र अवसरका लागि विभिन्न स्थानमा गएकालाई नेकपा एमालेमा स्वागत छ भनेर कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको उक्त समूहको निष्कर्ष छ । 

एमालेका निर्वाचित पदाधिकारी
पार्टीको नवौँ महाधिवेशनबाट अध्यक्षमा माधव कुमार नेपाललाई पराजित गर्दै  केपी शर्मा ओली निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्यादेवी भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल निर्वाचित भएका थिए । जसमध्ये भण्डारी राष्ट्रपति भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । 

यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेलाई पराजित गर्दै ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए । सचिवहरूमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका थिए । यीमध्ये अहिले कायम महासचिव पोखरेल, उपमहासचिव पौडेल र सचिवहरु गुरुङ र ज्ञवाली अहिले ओली समूहका हुन् । 

नेताहरुको प्रतिक्रिया
बालुवाटार बैठक लगत्तै एमालेका तत्कालीन उपाध्यक्ष तथा अहिले एकता अभियानमा रहेका वामदेव गौतमले अब ओलीसँगको एकताको सम्भावना सकिएको घोषणा गरे । गौतमले एमाले अब कम्युनिष्ट नरहेको भन्दै एकताका सबै सम्भावना सकिएको बताए । 

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीको शुक्रबारको एक पक्षीय कदमले अब सहकार्यका सबै सम्भावना सकिएका हुन् । सर्वोच्चले एमाले ब्यूँताइ दिएपछि फागुन २४ मा नेता गौतम पूर्ववत् नेकपा एमालेमा फर्कने निर्णयमा पुगेका थिए । नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको गौतम समूहले ’सम्मानजनक रुपमा’ नेकपा एमालेमा फर्किने निर्णय गरेको थियो ।

नेपाल पक्षीय एमाले सचिव भीम आचार्यले ओलीको उक्त निर्णयलाई अवैधानिक भने । ’बालुवाटारमा ओलीले गरेको त्यो निर्णय अवैधानिक हो’, उनले फरकधारसँग भने, ’त्यो पार्टीको होइन, गुटको मात्रै निर्णय हो । त्यो पार्टीलाई मान्य हुँदैन । यो निर्णयविरुद्ध के गर्ने भन्ने विषयमा हामी सल्लाह गरेर ठोस धारणा तय गर्छौँ ।’ 

नेपाल पक्षका नेता ठाकुर गैरेले अहिलेसम्म साविक एमालेको केन्द्रीय कमिटी बैठक नै बसिनसकेको बताए । ’जुन पार्टीको केन्द्रीय कमिटीको बैठक नै बसेको छैन, त्यो पार्टीको निर्णय भयो भन्ने सुनेँ । मिडियामा आएको यस्तो समाचारले मलाई दिक्क लागेको छ ।’

अब के हुन्छ ?
हिजोको बालुवाटार बैठकले आगामी चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । एमाले ब्यूँतिएसँगै बालुवाटारमा डाकिएका बैठकमा नजाने निर्णय गरेका झलनाथ-माधव समूहले उक्त बैठक पनि बालुवाटारमा राखिए अस्वीकार गर्ने प्रष्ट छ । हिजोको बालुवाटार बैठकको निर्णयले रुष्ट बनेको उक्त समूहले आफूपक्षीय नेताहरुको छुट्टै बैठक पनि राख्दै आएको छ । 

अहिले कानुनी रुपमा एक देखिएपनि एमालेमा ओली र झलनाथ-माधवको प्रष्ट दुई समूह सक्रिय रहेको छ । त्यसमा पनि ओलीले पेलेर अगाडि बढे समानान्तर कमिटी बनाउने इतर समूहले प्रष्ट गरिसकेको अवस्थामा अब एमाले पनि फुटतर्फ अग्रसर बनेको छ । 

अदालतको आदेशपछि पूर्ववत् रुपमा ब्यूँतन समेत नभ्याउँदै एमाले फेरि फुटको संघारमा पुगेको छ । समाचारहरुमा आएझैँ निर्वाचितहरुको पद नरहने र ओली समूहले पेलेर अगाडि बढेको अवस्थामा एमाले एकढिक्का रहन कम्तिमा अहिलेका लागि भने सम्भव देखिँदैन । 


  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार ८:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया