logo-img

माधव पक्षको निर्णय : ओलीविरुद्ध तलैसम्म समानान्तर कमिटी
भीम रावल भन्छन् : राष्ट्रिय भेलाबाट थप निर्णय लिन्छौँ

नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कदम रोक्न समानान्तर कमिटी बनाउने भएको छ।

ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठक राखेर पार्टी संगठन विस्तार, प्रदेश इन्चार्ज नियुक्ति र केन्द्रीय कमिटीमा मनोनयन लगायत निर्णय गरेपछि माधव पक्षको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो।

होटल अर्यालमा बसेको उक्त बैठकले पार्टी फुटाउने उद्देश्यसहित प्रधानमन्त्री ओलीले गरेका निर्णयविरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ। 

नेपाल पक्षमा रहेका उपाध्यक्ष भीम रावलका अनुसार ओलीले गरेका निर्णय एउटा गुटका मात्रै भएको बताउँदै त्यसविरुद्ध कार्यकर्ता भेलाको तयारी गरिएको बताए। 

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महासचिव र अध्यक्षबाहेक पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय लिएको हो।

'बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह पनि गरेको छ', रावलले भने, 'हामी ओलीका कदमको प्रतिरोध गर्छौँ। अब राष्ट्रिय भेलासम्मको कदम चाल्छौँ।'



रावलले स्पष्ट नभने पनि नेपाल पक्षले ओलीविरुद्ध देशभरी समानान्तर कमिटी अभ्यास तयारी गरेको छ। उक्त बैठकले संसद् विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको पनि रावलले बताए।

'ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेको छ', उनले भने, 'कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर नेकपाको रक्षाका लागि अग्रसर हुनेछौँ।'



उनले प्रधानमन्त्रीले निर्लज्ज शैलीमा विधान मिचेको पनि आरोप लगाए। 'प्रधानमन्त्री जस्तो मान्छेले खुलेआम पार्टीको विधान र सम्पूर्ण प्रावधान मिचेर जसलाई पायो त्यसलाई निकालिन्छ भने यो जस्तो  निर्लज्ज कुरा केही पनि हुन सक्दैन', उनले भने, '२०४६ सालदेखि लगातार काम गर्ने मान्छेलाई अपमान गरेर पद र अवसरका लागि विभिन्न स्थानमा गएकालाई नेकपा एमालेमा स्वागत छ भनेर कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको छ।

बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने तर्क पनि रावलले गरे। उनले बाधा अड्काउ फुकाउने विषय पनि केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्ने स्पष्ट पारे। 

प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि प्रहार गर्ने काम गरेका प्रधानमन्त्री ओलीको पछिल्लो निर्णय लोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको टिप्पणी रावलले गरे।

बैठकमा सहभागी अधिकांश नेताले नेकपा एमाले फुटाउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित गरिएको निर्णय भएको बताएका पनि जानकारी दिए। प्रधानमन्त्री ओलीको निर्णयको विरोधमा सबैलाई एकतावद्ध हुन आव्हान गर्ने धारणा राखेको पनि रावलले बताए। 

भिडियो


  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार २२:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया