logo-img

'मैले बेलैमा राजनीति छाडेँ, ड्रागन फ्रुटको बहार छ'
ओलीका गल्तीको साक्षी बसेर माओवादीले झन् गल्ती गर्‍यो

माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका एक सक्रिय व्यक्ति पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले चार वर्षअघि आफ्नै मिहिनेतले खडा भएको माओवादी पार्टी छाडे । उनले माओवादी मात्रै छाडेनन्, ‘कामरेडहरूको मूल्यमान्यता र आदर्श स्खलित भएको’ भन्दै सक्रिय राजनीति नै परित्याग गरिदिए । ४० वर्ष लामो राजनीतिक जीवनकालमा उनी दुईपटक मन्त्री भए । रुकुमका स्थायी बासिन्दा मगरले राजनीतिक जीवनबाट अवकाश लिइसकेपछि करिब तीन वर्ष अघिबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा ६८ कठ्ठा जमिनमा ड्रागन फ्रुटको खेती सुरु गरे । मुलुकमा सामाजिक–आर्थिक परिवर्तन ल्याउन भन्दै लामो समय राजनीतिमा लागेका उनी अब राजनीतिमा नफर्किने बरु कृषिबाटै क्रान्ति गर्ने बताउँछन् । 

सक्रिय राजनीति परित्याग गरे पनि उनी राजनीतिबाट टाढा भने छैनन् । अहिले उनी राजनीतिक वृत्तमा देखिने हरेक घटना–परिघटनामाथि आफ्नो विचार मात्र राख्दैनन्, सरकारका कामलाई लिएर खरो आलोचना–समालोचनामा पनि उत्रिन्छन् । देशमा पछिल्ला ३–४ महिनायता देखिएका राजनीतिक घटना–परिघटनालाई उनले कसरी हेरिरहेका छन्, बुझिरहेका छन् भन्ने विषयमा फरकधारकर्मी कमल विष्टले उनै मगरसँग गरेको कुराकानीको सम्पादित अंश : 

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई एक पूर्वमन्त्री, कृषक र एक आमनागरिकका हैसियतले कसरी हेरिरहनुभएको छ ?

पछिल्लो चरणका राजनीतिक घटना–परिघटना एकदमै अनपेक्षित र अपत्यारिला छन् । सरकार असफलतातर्फ उन्मुख भएको प्रस्टै देख्न सकिन्छ । अपेक्षा गरेभन्दा फरक तरिकाका राजनीतिक घटना देखिएपछि फेरि एकपटक राजनीतिक दलप्रति जनताको आशा र विश्वास गुमेको छ । जनताले सरकारका नराम्रा काम र निर्णयको विरोध गर्न थालेका छन् । तर, सरकार आफूबाट भएका गल्तीलाई स्विकार्दै आत्मालोचना गरेर अघि बढ्नुको साटो झन् अराजक हुँदै गइरहेको छ । 

पार्टीभित्रको आन्तरिक विवाद समाधान नभएपछि नितान्त व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गरे । त्यसो त यो ओली एक्लैको गल्ती भने होइन । यसमा ओलीका हरेक गल्तीको साक्षी बसेको तत्कालीन माओवादी केन्द्र समूहको उत्तिकै दोष छ ।  पार्टीभित्र अक्षमहरुको हालीमुहाली भइराख्दा तत्कालीन माओवादी केन्द्रले सुरुदेखि नै त्यसको त्यसको खरो विरोध गर्नुपर्थ्यो । तर, ऊ आफैँ सत्तामा पुग्ने पालो कुरेर बसिरहेकाले उसले केही गर्न सकेन । 

हुन न हिलो छ्याप्ने प्रतिस्पर्धामा उत्रिएका दुवै समूहलाई एकले अर्कालाई हिलो छ्याप्दा बडो मज्जा आयो होला । तर, उनीहरुको प्रतिस्पर्धामा राष्ट्र र देश भने नमज्जासँग हारेको छ । यो विडम्बना हो । यो नेपाली जनताको दुर्भाग्य हो । नेपाल र नेपालीलाई सबैभन्दा धेरै बाधा र घाटा कसैले गर्यो भने नेपाल कम्युनिस्ट पार्टी र त्यो पार्टी हाँकेको सरकारले गर्यो । यसले अन्य आमनागरिकझैँ मलाई पनि दुःखी तुल्याएको छ । जनताबाट मान्यताप्राप्त सरकारले त्यसो गर्नुहुँदैनथ्यो । 



दुईतिहाइ मत प्राप्त सरकारले चाहेको भए धेरै काम गर्न सक्थ्यो, तर सरकारले जनआकांक्षालाई सम्बोधन गर्न सकेन । यसमा दोषी को त ? 

पहिलो र मुख्य कारण यो सरकार सक्षम नहुनु नै हो । स्वार्थी, नातावादी–कृपावादी, र झुण्डवादी नेतृत्वको सरकार न कहिले सक्षम हुन्छ, न दूरदर्शी नै । यो नेतृत्वले आफ्ना झुण्ड र नातागोताबाहेक अरुलाई विश्वास गर्दैन । आफ्नो गुट र आसेपासेलाई मात्र विश्वास गर्ने यो नेतृत्व सधैँ साँघुरो घेरामा थियो । यो नेतृत्वले स्वतन्त्र नागरिकको समेत मन जित्न सकेन । 



नेतृत्वले देश निर्माणमा ठूलो बलिदानी दिएर पार्टी र समग्रमा राष्ट्र निर्माणमै महत्वपूर्ण भूमिका खेल्नेहरूको मूल्यांकन गर्न सकेन । आफूलाई चन्दा–सन्दा दिने माफिया र पुँजीवादी दलाललाई मात्र विश्वास गर्यो । यस्तो प्रवृत्तिमा के हुन्छ भने सरकार फेरिन्छ, तर संस्कार फेरिँदैन । पार्टी फेरिन्छ, परिपाटी फेरिँदैन । तर, उनीहरुले के चाहिँ बुझ्नुपर्छ भने देशमा उनीहरुका कुकर्मले देखिएको लाजमर्दो स्थितिले उनीहरुलाई पनि उत्तिकै हानि गर्छ, जति हानि देश र देशवासीलाई गर्छ  । 

सर्वोच्चको फैसलासँगै पूर्वएमाले र माओवादी केन्द्र पूर्वअवस्थामै फर्किएका छन् । तर, पनि आन्तरिक द्वन्द्व अझै कायम छ, यसलाई कसरी हेर्नुभएको छ ?

यो केही होइन, घुम्दै फिर्दै रुम्जाटार भन्याजस्तै हो । यिनीहरु मिल्नु र छुट्टिनु नौलो कुरा होइन । जबसम्म यीनीहरुको स्वार्थ एउटै हुन्छ, तबसम्म मिल्छन् । जुन दिनदेखि मिल्दैन, छुट्टिन्छन् । यिनीहरुलाई भोलि फेरि सँगै देख्नुभयो भने पनि कोही कसैले आश्चर्य नमान्दा हुन्छ । 

यिनीहरु पूर्ववत् अवस्थामा फर्किएपछि अहिले जे छन्, जति छन्, त्यो पनि हुँदैनन्, त्यति पनि हुँदैनन् । यसर्थ पूर्ववत् अवस्थामा फर्किएपछि यिनीहरु अहिलेभन्दा खस्कनेछन् । माओवादी केन्द्रबाट बादल, लेखराज भट्टलगायत ओलीतिर लागेका छन् । पूर्वएमालेका केही माओवादीतिर आएका छन् । ओली र खनाल–नेपालबीच पनि अवस्था राम्रो छैन । यसले एकखालको समस्या अहिले नै ल्याइसक्यो । 

दुवै दल अहिले आत्मालोचना गरेर संवादमार्फत अगाडि बढ्छौँ भनिरहेका छन् । तर, मलाई के लाग्छ भने यिनीहरुले जतिसुकै आत्मालोचना गरे पनि पूर्वएमाले र माओवादी केन्द्र एक हुन सक्दैन । आत्मालोचना र समालोचना शब्द बोली र वाणीमा मात्र मीठो सुनिन्छ । खास समस्या त आत्मालोचना गरिसकेपछि सुरु हुनेवाला छ । अहिलेसम्मको इतिहास हेर्दाखेरि आत्मालोचना गर्ने र गराउनेबीचको सम्बन्ध सुमधुर नभएर झन्–झन् टाढा, झन्–झन् चिढिने भएको देखिन्छ । 

मलाई उहाँहरुले गरिखानुहोला भन्ने एकरत्ति पनि लाग्दैन । उहाँहरु सच्चिने मान्छे नै होइन । तर, पनि मेरो शुभेच्छा छ, तपाईंहरु मिल्नुस् र गरिखानुस् । विगतमा आफूबाट भएका तमाम गल्तीलाई सच्याउनुस् । तपाईंहरुलाई साँच्चिकै यो देशको चिन्ता छ भने धेरै केही नगर्नुस् । मात्र दुइटा काम गरिदिनुस् । पहिलो भ्रष्टाचार रोक्नुस् र दोस्रो, विकास निर्माण र रोजगार सिर्जना गर्नुस् । यत्ति गर्नेबित्तिकै जनताका ९० प्रतिशत समस्या समाधान भइजान्छन् । 

ज्यानै दाउ लगाएर बनाएकाे पार्टी परित्याग गरेर कृषिमा लाग्नुभयो । अहिले सोच्दा के लाग्छ सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गर्नु ठीक थियो वा बेठीक ?

हो, पार्टीमा मेरा धेरै असहमति थिएँ । पार्टी गलत प्रवृत्तिमा अगाडि बढिरहेको कुरा मैले पाँच–छ वर्षअघि नै राम्रोसँग चाल पाइसकेको थिएँ । पार्टी छाड्नुको प्रमुख कारण यही नै हो । तर, यो मात्र कारण भने होइन । न आफ्ना राजनीतिक सपना पूरा नभएर छाडेको हुँ । न पार्टी वा कुनै नेताले आफूलाई केही दिएन भनेर निराश भएर नै । 

वास्तवमा भन्ने हो भने मैले पार्टीलाई जति दिएँ, त्योभन्दा कयाैँ गुणा पार्टीबाट पाएँ । दुई–दुईपटक मन्त्री हुन पाएँ । पार्टीको माथिल्लो स्थानसम्म पुगेँ । म मेरा नितान्त व्यक्तिगत मूल्य–मान्यताका कारण अलग्गिएको हुँ । थोरै भए पनि सामाजिक–आर्थिक रुपान्तरणमा भूमिका खेल्नुपर्छ भनेर यस्तो निर्णय लिएको हुँ । 

मलाई लाग्थ्यो, राजनीतिलाई कमाइको थलो बनाउनुहुँदैन । न त राजनीति जीवनभरको पेसा नै बनाउनुपर्छ । मलाई सधैँ लाग्थ्यो, एउटा विन्दुमा पुगेपछि राजनीतिबाट अवकाश लिने । र, अवकाशपछि थोरै भए पनि सामाजिक–आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने । जनताको साथमा गएर उनीहरुसँगै आफ्नै माटोमा श्रम र पसिना बगाउनुपर्छ । आफ्नो कर्मले विदेशमा रहेका युवा पंक्तिलाई प्रेरित गर्नु र उनीहरुलाई नेपालमा फर्काउन सकूँ भनेर अवकाश लिने निर्णय गरेको हुँ । 

मलाई के पनि लाग्थ्यो भने राजनीति गर्नेहरु सधैँ सुकिलो–मुकिलो भएर सहरमा मात्र बस्नुहुँदैन । गाउँमा फर्किएर माटो र श्रमसँग पनि जोडिनुपर्छ । मेरो निर्णयले जीवनभर सहरमा बसेर राजनीति गर्नेहरुलाई सानोतिनो चुनौती र युवापुस्तालाई ऊर्जा मिलोस् । म अहिले आफूले सोचेको गरिरहेको छु । र, आफू जे गरिरहेको छु, त्यसमा शतप्रतिशत खुसी छु । मलाई कृषिमा लागेर कहिल्यै गलत गरेजस्तो लागेको छैन । यस मानेमा म जे गरिरहेको छु त्यसमा खुसी छु । 

तपाईंहरुले गरिरहनुभएको ड्रागन फ्रुटबारे पनि कुरा गरौँ न । अहिले कस्तो भइरहेको छ ड्रागन खेती ?

खेती एकदमै राम्रो भइरहेको छ । अहिले गोडमेल गर्ने, कटिङ गर्ने र मल हाल्ने काम भइरहेको छ । अहिलेसम्म हामी यसैमा केन्द्रित र सीमित छौँ । ड्रागन सँगसँगै १२ बोट एभोकाडो र १५० कागतीका रुख पनि लगाएका छौँ । यद्यपि, हामी अहिलेसम्म ड्रागनमा नै केन्द्रित र सीमित छौँ । 

ड्रागन खेतीसँगै अन्य खेती पनि गर्ने वा यसैलाई विस्तार गर्ने योजना केही छ ?

हाललाई योभन्दा धेरै गर्न सकिँदैन । गर्न लगानी पनि छैन । सरकारबाट सहयोग र लगानी पाइयो भने खेतीलाई अझ विस्तार गर्न र अन्य फ्रुट पनि थप्न सकिन्थ्यो । अर्थको अलवा काम गर्न इच्छुक युवाको पनि खाँचो छ । अधिकांश युवाहरु काम गर्न मन पराउँदैनन्, गफ मात्रै गर्न रुचाउँछन् । 

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार २१:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया