सशस्त्रका एआइजीको कार्यकाल थप्न चलखेल : अवकाशमा जाने बेला नेताको घर डुल्दै

सशस्त्र प्रहरी बलमा दुईजना एआइजी यही २० वैशाखदेखि अनिवार्य अवकाशमा जाँदैछन् । चार वर्षे पदावधि कारण एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल अनिवार्य अवकाशमा जान लागेका छन्।

तर अझै उनीहरुमा जागिरबाट मोह घटेको छैन । कार्यकाल थप गराउन सशस्त्र प्रहरी नियमावलीविपरीत नेताहरुको घर धाइरहेका छन् । अर्थात् अनिवार्य अवकाश हुन लागेका एआईजीद्वयले एक वर्ष कार्यकाल थप्न चलखेल गरिरहेका स्रोतले जनाएको छ । खासगरी एआइजी केसीले यो कामको अगुवाइ गरिरहेको स्रोतले जनाएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार उनी कहिले माओवादी नेता नारायण दाहाल त कहिले गृहमन्त्री नजिकका नेताहरुको घर चहार्दै हिडिरहेका छन् । स्रोतका अनुसार ती एआइजीहरु दिनभर कार्यालय नबसी बाहिर बस्ने गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नजिकका नेता भेटेर भन्ने गरेका छन्, ‘कार्यकाल यही २० गते सकिँदैछ, एक वर्ष थप गराउन पहल गरिदिनुपर्यो। बरु चुनाव भयो भने तपाईहरुलाई आर्थिक सहयोग गर्छौँ। जसरी हुन्छ गृहमन्त्रीज्यूलाई भनेर यो काम गराइदिनुपर्‍यो ।’ 

कार्यकाल केही दिनमात्रै बाँकी रहँदा अवधि थप गराउने चलखेलमा एआइजी केसी लागेपछि अहिले सशस्त्र प्रहरी बलको मुख्यालयमा खैलाबैला मच्चिएको छ । उनको यो लविङका कारण अन्य डिआइजी चिन्तित बनेका छन् । 

‘कार्यकाल थप गराउने लविङ गर्न भइरहेको सुनेपछि एआइजी बढुवा लाइन ती डिआइजी चिन्तित मात्रै छैनन्, उनीहरुमा एआइजी नहुँदै घर जाने डर बढेको छ । त्यहीकारण ती डिआइजीहरु संगठनको काममा सक्रिय भइरहेका छैनन्,’ हलचोक श्रोत भन्छ। 



सुरक्षाविदहरुका अनुसार यस्ता चलखेलले अन्य अधिकारीमा भने नराम्रो असर पार्छ । उनीहरु भन्छन, ‘एक त यसरी नेताको घर हिँड्नु पनि संगठनको हितविपरीत हो, अर्को लामो समयसम्म एउटै दर्जामा बसेर काम गर्दा उपलब्धि हुँदैन। झन् निराशा हुन्छ, जसले काम गर्ने जोश मर्छ ।’ 

११ दिन पछाडि एआइजीद्वय अवकाश भएपछि एआइजी लाइनमा डिआइजीहरु खड्ग राई, मन्दीप श्रेष्ठ, प्रवीण कुमार श्रेष्ठ छन् । स्रोतका अनुसार सशस्त्र प्रहरी बल मुख्यालयको चलखेलले उनीहरु चिन्तित बनेका छन् ।



  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १६:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया