रौतहटमा शुक्रबार रातिदेखि एक साता निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले शुक्रबार रातिदेखि रौतहट जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।

कोरोना संक्रमणको दर अत्यधिक वृद्धिसँगै केही व्यक्तिको मृत्युसमेत भएको अवस्थामा निषेधाज्ञा जारी गरेको प्रजिअ यादवले बताए । संक्रमणको चेन ब्रेक गरी न्यूनीकरण तथा रोकथाम गर्नका लागि नेपाल सरकारको निर्णय तथा स्थानीय वस्तुस्थिति मूल्यांकन गरी केही समय निषेध गरी नियन्त्रणमा प्रभावकारिता ल्याउनुपर्ने जरुरी देखिएको उनको भनाइ छ । 

रौतहट जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ यादवले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल एक हप्तासम्मका लागि बन्द गरिएको जानकारी दिए । 

संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्लाभरि निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ । 

प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागिबाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।



निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।

विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।



प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया