अस्मिता मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदको माग

डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदहरुले माग गरेका छन् । सुदूरपश्चिमका प्रदेश सांसदहरुले उक्त घटनाको विस्तृत छानविनको माग गरेका हुन् । 

डडेल्धुराका सांसद कुन्ती जोशीले अस्मिता घटनाको सत्यतथ्य छानविन गरी मृतक परिवारलाई राहतको व्यवस्था गर्न माग गरिन् । ‘कोभिड खोप लगाई स्वास्थ चौकी जाँदै गर्दा बाटोमा भएको घटनाको सत्यतथ्य छानविन गर्न प्रदेश सरकारसँग माग गर्दछु’, सुदूरपश्चिम प्रदेशसभा बैठकको विशेष समयमा उनले भनिन् । 

‘प्रदेश सरकारले घटनाको थप अनुसन्धान गरी छानविन गरी पीडित परिवारका लागि राहतको माग गर्दछु ।’ उनले मृतक अस्मिताको नाबालिकाहरुलाई पालन पोषणमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने माग गरिन् । 

यस्तै, सांसद पठानसिंह बोहराले पनि मृतक अस्मिता घटनाको सत्यतथ्य छानविन गर्न माग गरे । ‘अस्मिता घटनाको पोष्टमार्टमका लागि पनि भनसुन गर्न प¥यो’, उनले भने, ‘यसमा प्रदेश सरकारले चासो देओस् ।’ 

असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा परीक्षण गरिएको छ । पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको जनाएको छ । 

असार २ गते आधारभूत स्वास्थ्य एकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।



धामीको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको भएपनि शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोतल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन् । 

यद्यपि, प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी एकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ ।



यस्तै, सोमबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद भरत खड्काले पनि डोटी, बाजुरा र बझाङमा पहिरोमा परेर मृत्यु भएका परिवारलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । सांसदहरु गोविन्द बोहरा, प्रेमप्रकाश भट्टले पनि अस्मिता घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १७:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया