प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाबाट मात्रै विद्यमान राजनीतिक संकट टर्छ : प्रभु साह

पूर्वमन्त्री प्रभु साहले देशमा देखिएका विभिन्न राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जरुरी रहेको बताएका छन् ।

बुधबार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, वयलबाँस बजारमा आयोजित आइटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले संसदबाट प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण नै नेताहरुमा लालसा बढी भएको र संसद विघटनदेखि विभिन्न षड्यन्त्र भएकोले राष्ट्रपतीय प्रणालीबारे सोच्नुपर्ने बताए ।

पूर्वमन्त्री साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता पैदा भएको बताए । विगतमा भएका पटक–पटकका संसद विघटनबाट शिक्षा लिँदै संसदबाट सरकारको नेतृत्व चयन गर्ने प्रणाली हटाउन जरुरी रहेको जिकिर गरे ।  जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरे मात्र विद्यमान राजनीतिक संकट टर्ने उनले बताए ।

‘विगत केही महिनादेखि देशमा विद्यमान संकट समाधानको एक मात्र दिगो विकल्प भनेको संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीको विकल्प खोज्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नतर्फ लाग्नु हो,’ पूर्वमन्त्री साहले भने, ‘देशमा संसद विघटनको क्रम रोक्न, दलीय प्रणालीको उपहास रोक्न, गलत राजनीतिक संस्कार बढ्न नदिन तथा कम्तीमा पाँचवर्षे स्थिर सरकार निर्माण गर्नका लागि मुलुकमा अब आमनेपाली जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको नेतृत्व जरुरी छ ।’

विश्वको जुनसुकै राष्ट्रमा शासकीय स्वरुप निश्चित सिद्धान्तका आधारमा तय गरिएको, तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तको खिचडी नै रहेको उनले बताए ।  सामन्तवादी, पुँजीवादी र दलाल पुँजीवादी, सर्वहारावादी, पश्चगामी, यथास्थितिवादी र अग्रगामी विचार तथा सोचवाला सबै पार्टीको निहीत स्वार्थ र अपवित्र सम्झौतामा तयार भएको कन्फ्युजन व्यवस्थाका कारण मुलुकमा यस्तो परिणाम देखिएको उनले बताए ।

देशमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको तालमेलको पनि अभाव भएकोले अस्थिरता र अराजकता अझ बढ्ने निश्चित रहेको उनको ठहर छ। सबैले एकपटक शासकीय स्वरूपबारे गम्भीरतापूर्वक विचार गर्ने बेला आएको पूर्वमन्त्री साहले बताए ।



वयलबाँस बजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा भेलाबाट समाजसेवी युवा नेता बलराम खड्काको संयोजकत्वमा आइटी आर्मीको सर्लाही जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, आइटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभूषण साह, नेताहरु नागेन्द्र साह, उदयप्रसाद साह, रवीन्द्र सिंहलगायत सहभागी थिए ।



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार २०:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया