आरक्षका जनावरको आतंकले हैरान, पीडित भन्छन्-बरु सरकारले हामी सबैलाई मारिदेओस्

सुनसरी कोसी गाउँपालिका–४ श्रीपुर गलफलिया टोलका किसान रामानन्द  खत्वे बिहीबार बिहान बारीतिर निस्के। घरपछाडि उनको परवल खेती छ। २०६५ साल भदौ २ गते कोसीले पूर्वी तटबन्ध भत्काएपछि बगर भएको उनको खेतमा गतसालदेखि परवल उब्जिन थालेको थियो। 

१० वर्ष बगर भएको खेतको बालुवा हटाएपछि खत्वेको खेतमा बल्ल बल्ल उब्जनी हुन थाल्यो। 

बिहानदेखि दिनभर बारीमै खटिइरहेका हुन्थे। खेती किसानीकै भरमा बालबच्चा पाल्ने खत्वे हरेक दिन उज्यालो नहुँदै बारीमा पुग्थे। बिहीबार बिहान पनि उनी श्रीमती नउठ्दै बारी पुगेका थिए। 

बारीमा  पुगेका खत्वेलाई कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले पछारेर मारिदियो।  बारीमा श्रीमान चिच्याएको सुनेर बाहिर निस्केकी खत्वेकी श्रीमतीले हात्ती आउँदै गरेको देखिन्। 

हात्ती अलि पर पुगेपछि दौडिएर बारीमा जाँदा हात्तीले फछारेर छट्पटाई रहेका श्रीमानलाई देखिन्। उनी चिच्याएपछि गलफलिया टोलका स्थानीय घटनास्थल पुगे। हात्तीले  घाँटी  बटारेका रामानन्दलाई उनीहरुले अस्पताल लैजाने तयारी गर्दागर्दै घटनास्थलमै प्राण गयो। 



कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र 

सुनसरीको कोसी गाउँपालिकाका हरिपुर, श्रीपुर, पश्चिम कुसाहा क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट हरेक वर्ष ६ जना भन्दा बढीको मृत्यु भइरहेको छ। 



घाइते र अपांगता हुनेहरुको संख्या पनि धेरै छ। तीन तहको सरकारका बीचमा समन्वय नहुँदा त्यस क्षेत्रमा स्थानीयलाई जंगली जनावरबाट बचाउन कुनै काम हुन सकेको छैन। 

दीर्घकालीन समस्या समाधन गर्न काम नगर्दा कोसीपीडित क्षेत्रका नागरिक सरकारलाई धारेहात लगाएर बसिरहेका छन्। 

कोसीले धार परिवर्तन गर्दा मरुभूमि बनेको सो क्षेत्रमा अहिले खेतीपाती हुन थालेको छ। स्थानीयहरु गाँउ फर्किएका छन्।  खेतमा अन्न फलाँउला र त्यसले सहज जीवन यापन गरौँला भनी बसेका स्थानीयलाई जंगली जनवारको आतंकले निराश बनाइदिएको छ। 

कोसीको कहर एकातिर छँदैछ। तर त्यो भन्दा जंगली जनवारको आतंकका कारण बसिनसक्नु भएको छ। कोसी भन्दा पनि हात्ती, बाँदेल र अर्नाले बसिखान नदिएको स्थानीयको गुनासो छ। 

‘कतिखेर मरिने हो टुंगो भएन ? छिमेकी र आफन्तहरु मारिएका छन्’  मोहमद कलिमले दुखेसो पोखे, ‘सरकारले कि जनवारबाट बचाओस की हामी सबैलाई मारिदेओस्।’

कलिमका अनुसार कोसी टप्पु वन्यजन्तु आरक्षबाट दिनदिनै जंगली हात्ती आएर धनजनको क्षति गर्दा पनि सरकारले यसलाई समस्या नै नठानेको कलिमको गुनासो छ। 

कोसी टप्पु वन्यजन्तु आरक्षको मध्ववर्ती क्षेत्रमा ७ वर्षको अवधिमा हात्तीको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ।  अर्नाले हानेर यस क्षेत्रका ३ जनाले ज्यान गुमाएका छन्। 

कोसी टप्पु वन्यजन्तु आरक्ष प्रशासनका अनुसार हात्तीको आक्रमणबाट ७० सालयता ३३ जना घाइते भएका छन् भने अर्नाको अक्रमणमा परी ४७ जना घाइते भएका छन्। 

यो वर्ष मात्रै हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भइसकेको छ। ८ जना घाइते भएका छन्।  अर्नाले आक्रमण गर्दा यस वर्ष मात्रै १० जना घाइते भएका छन्।  

मन्त्रीको आश्वासन मात्रै  

प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसीयैतको घर कोसी गाँउपालिका नै हो।  यो उनकै निर्वाचन क्षेत्र पनि हो। 

त्यति मात्रै नभएर यो गाउँपालिका अहिलेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र पनि हो। 

यस यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु जिम्मेवार ठाउँमा हुँदा पनि कुनै वास्ता नगरेको भन्दै नेपाली कांग्रेस महासमिति सदस्य मोहम्बद नयूम मन्सुरीले आक्रोश पोखे। 

आरक्ष क्षेत्रका पीडितहरु 

रामानन्दलाई हात्तीले मारेपछि उनले मन्त्री कार्कीलाई फोन गरेका थिए। ‘मन्सुरी जी म पछि कल गर्छु भनेर मन्त्रीले फोन राखे’ मन्सुरीले सुनाए, ‘ उनलाई यहाँको मतलब नै छैन, हाम्रो समस्या बुझेको भए त त्यसो गर्ने थिएनन् नी।’ 

मन्त्री कार्कीले जंगली जनावरको समस्या समाधान गर्ने भनेर निर्वाचनका बेला वचन दिएका थिए। ‘चुनावमा भोट माग्दा वचन दिएका थिए, अहिले हात्तीले मान्छे मार्यो भनेर फोन गर्दा समेत रेस्पोन्स गर्दैनन्’ मन्सुरी भन्छन्। 

चुनावका बेला आफन्त भन्दै आउने नेताहरु चुनाव जितेपछि पाराई भएको उनको गुनासो छ।  

अर्का स्थानीय उमर उन्सीलाई पनि अब मन्त्री र नेताको भर लाग्न छाडेको छ। चुनावका बेला प्रदेश १ का मन्त्री जगदिस कुसियैतले भनेको कुरा उनको मनमा ताजै छ। 

आरक्षबाट निस्कने जंगली जनावरको आतंक रोक्न दिगो उपाय खोज्ने आश्वासन उनले दिएका थिए। तर मन्त्री भएको चार वर्ष पुग्दा पनि यसमा उनको ध्यानै गएको छैन।  सरकारले के गरिरहेको छ आफूहरुलाई थाहा नभएको उनले बताए। 

‘दिगो व्यवस्थापन  भनेको मरेपछि दिइने १० लाख रुपैयाँको हो ? वा घाइते हुँदा पाउँने २ लाख रुपैयाँको ?’ उमरले प्रश्न गरे। प्रदेश सरकार र स्थानीय सरकारले कोसी पीडितले जंगली जनवारबाट भोग्नु परेका त्रासका बारेमा बुझ्दै नबुझेको उमर सुनाउँछन्। 

क्षतिपूर्ति लिन सकस  

जंगली जनवारले आक्रमण गरी घाइते भए सरकारले उपचार खर्च दिने निर्णय गरेको छ। उक्त निर्णय अनुसार अस्पतालको बिलका आधारमा २ लाख रुपैयाँसम्म कोसी टप्पु वन्यजन्तु आरक्षले उपचार खर्च दिन्छ। त्यो भन्दा माथि खर्थ लागे सरकारले क्षतिपूर्ति दिने निर्णय गरिएको छ। 

सुनसरी कोसी गाँउपालिका जुधगञ्जका वसिर मन्सुरीलाई गएको माघ १ गते घरै पछाडि हात्तीले आक्रमण गर्यो। हात्तीले पछार्दा उनको करङको हड्डी नै भाँचियो। 

मन्सुरीले विराटनगरको विराट नर्सिङ होममा २१ दिनसम्म बसेर उपचार गराए। उपचार गर्दा विराट नर्सिङ होम उनको ६ लाख रूपैँया खर्च भयो।  तर उनले अहिलेसम्म २ लाख रुपैयाँ मात्रै पाएका छन्। सबै बिल पेस गरेको भए पनि बाँकी ४ लाख अहिलेसम्म आएको छैन। 

क्षतिपूर्तिका लागि उनी मन्त्रालयसम्म धाए तर उनको ४ लाख पैसा आउने नआउने टुंगो छैन। भाँचिएको करङमा स्टिल हालिएको छ। स्टिल नझिकेका कारण काम गर्न समस्या छ। हिँडडुल गर्न पनि सहज छैन। डाक्टरले अप्रेसन गरेर स्टिल झिक्नुपर्छ भनेका छन्।

४५ वर्षीय बसिर प्रश्न गर्छन्, ‘अब अप्रेसन गर्ने पैसा कहाँ बाट ल्याउने ?’

कोसी गाँउपालिका वडा नम्बर ४ प्रतीक टोलका सैनी राम बदेल आक्रमण बाट घाइते भए। ७६ साल माघ १ गते उनी बँदेलको आक्रमणमा परेका थिए। घरमा एक्लै भएका उनलाई बँदेलले आक्रमण गरेर भैमा लडायो अनि उनको खुट्टामा टोकिदियो। 

बँदेको आक्रमणबाट घाइते भएका सैनी राम 

त्यहीँ बेहोस भएका उनी होस खुल्दा उनी नोबल अस्पताल विराटनगरमा  थिए। सैनी राम  १५ दिन पछि खुट्टामा स्टिल हालेर घर फिरे। उपचारका क्रममा उनको ३ लाख रुपैयाँ सकियो। उनले क्षतिपूर्तिबापतको दुई लाख रुपैयाँ मात्रै पाए।

उपचार गरेको रकम पाइने आशामा उनी गाउँपालिका र प्रदेश सरकारसम्म पुगे। दुई वर्ष बितिसक्यो उनले उपचार गर्दा लागेको पैसा पाएनन्। 

सैनी रामको पीडा यतिमा मात्रै सकिँदैन। जंगली हात्तीले उनको घर मात्रै तीन पटक भत्कायो। 

बाँदेलले सकुसल खुट्टा मात्रै बिगारेन हात्तीले बासस्थान पनि उजाडिदियो। ‘सरकारले न उपचारको पैसा दियो। न घर भत्काएको क्षतिपूर्ति नै दियो’ सनीराम भन्छन् ‘की हामीलाई सरकारले सट्टा भर्ना गरोस् की जनावर नियन्त्रण गरोस्।’
 
कोसी गाउँपालिका–३ का वडाअध्यक्ष सुलेमान अन्सारी आफू वडाअध्यक्ष भएपछि मात्रै जंगली जनावरको आक्रमणबाट १७ जनाको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार गाउँपालिकाले जनताको जीवन रक्षाका लागि काम गरेको भएपनि आरक्ष प्रशासन जनताप्रति उत्तरदायी छैन। 

जनावर गाँउ पस्यो भन्दा पनि नआउने गरेको गुनासो अन्सारीको गुनासो छ। उनले आरक्ष प्रशासनले स्थानीयको भन्दा पनि जनावरको माया गर्ने गरेको उनको आरोप छ। 

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी पनि आरक्षबाट हुने पीडाको समस्या समाधन गर्न आरक्ष प्रशासन अनुदार देखिएको बताउँछन्। 

समन्वय र सहकार्य नभएकाले पनि समस्या भएको गाउँपालिका अध्यक्ष अन्सारीको भनाइ छ।  

समस्या बुझ्ने वार्डेन आए काम गर्न सहज हुने नबुझ्ने आँउदा समस्या हुने उनले बताए। ‘हामी जनतासँग जोडिएका छौ। केही समस्या भए हामीलाई नै गुहार्न आउँछन्’ अन्सारी भन्छन्, ‘तर सानो कुरा सहजीकरण गरिदिनु न भन्दा पनि आरक्ष प्रशासनले कानुनको बहाना बनाएर टेर्दैन।’

छलफलका लागि बोलाउँदा समेत आारक्ष प्रशासनका अधिकारीहरु छलफलमा नआएको अनुभव उनीसँग छ। प्रमुख जिल्ला अधिकारीलाई भन्दा भन्दा गरेपछि बल्ल छलफल भएको अन्सारीले सुनाए।

ऐन अनुसार जंगली जनावरले पुर्याएको क्षतिका बारेमा वडा कार्यलयले सिफारिस गर्छ। घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिन पालिकासँग समन्वय गर्नुपर्छ । 

समन्वयमा समस्या हुँदा पीडितले थप पीडा पाइरहेको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत अशोक राम बताउँछन्। ‘म आएपछि जनतासँग समन्वय गर्ने प्रयासमै छु’ उनले भने, ‘कानुनको चेपुवामा परेकाले हामीले चाहेर पनि काम गर्न सकेका छैनौ।’

थरीथरीका योजना : कुनै अलपत्र कुनै फेल 

जंगली जनावरबाट हुने क्षति न्यूनिकरणका गर्न सरकारले आरक्षको सिमानामा  फेन्सिङ गर्यो। सुनसरीको कोसी गाँउपालिका हरिपुरदेखि बराहक्षेत्रको प्रकाशपुरको सिमानासम्म तार लगाएर तारमा करेन्ट छाडियो ।  

तर उत्तरी क्षेत्रमा सोलार फेन्सिङले काम गरेपछि कोसी गाउँपालिका क्षेत्रमा भने तार र तारमा बगाइने करेन्टले हात्तीलाई रोक्न सकेन।१७ किलोमिटर मध्ये १२ किलोमिटर क्षेत्रमा अहिले जनवार मानव वस्तीमा पस्ने गरेको आरक्ष प्रशासनले जानकारी दिएको छ। 

फेन्सिङका लागि तार जडान गरिएका पिलर नै लडाएर हात्ती गाँउ पस्ने गरेका छन् र  हात्तीले भत्काएको त्यही स्थानबाट अर्ना र बँदेल पनि मानवबस्तीमा पस्ने गरेको आरक्षण अधिकृत राम बताउँछन्। 

सरकारले फेन्सिङ नाममा करोडौं रुपैयाँ खर्च गरेको भएपनि त्यो दीर्घकालीन नभएको संरक्षण अधिकृत रामको भनाइ छ। 

अहिले प्रदेश सरकारले आरक्षको सिमानामा टन्च अर्थात वाल उठाउने योजना अघि सारेको छ। तर त्यो योजना कार्यान्वयनमा गइसकेको छैन। 

सिमनामा क्यानल बनाउने र क्यानलसँगै अग्लो पर्खाल लगाएर जनावरलाई मानववस्तीमा पस्न नदिने योजना रहेको मन्त्री जगदीश कुसियैत बताउँछन्। 

यसका लागि बहुबर्षे योजना अन्तरगत बजेट विनियोजन गरिनुपर्ने उनको धारणा छ। 

क्यानल र पर्खाल सँगै आरक्षको क्षेत्र विस्तारबाट मात्रै दीर्घकालीन समस्या समाधान हुने एक थरीको भनाइ छ।  १२८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्ष विस्तारका लागि आरक्षले प्रतिवेदन तयार पारेर सरकारलाई प्रस्ताव गरेको छ। 

महेश आचार्य वनमन्त्री भएका बेला आरक्षको क्षेत्र बढाउने गरी तयारी समेत भएको थियो। तर यो कार्यान्वयनमा जान सकेको छैन।

आरक्ष कार्यलयका अनुसार वन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि आरक्षको क्षेत्र ३२८ वर्गकिलोमिटर बनाउने प्रस्तावसहितको प्रतिवेदन  पेश भएको छ। 
 

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १८:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया