भारत र पाकिस्तानबीच जुहारीः पाकिस्तान– कश्मीरको समाधान युएनको प्रस्ताव अनुसार, कश्मीर हाम्रो अभिन्न अंग हो– भारत

अमेरिकाको न्युर्योकमा चलिरहेको संयुक्त राष्ट्रसंघ (युएन)को ७६औं महासभामा भारत र पाकिस्तानबीच जुहारी चलेको छ । 

महासभालाई शनिबार सम्बोधन गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत माथि ‘आरोप’को वर्षा गरेका थिए । 

खानले कश्मीर मुद्दा उठाउँदै भारतमाथि सन् २०१९ अगष्ट ५ यता धेरै पटक अवैध तथा एकतर्फी कदम चालेको आरोप लगाए । 

पाकिस्तानका प्रधानमन्त्रीले कश्मीरमा भारतले ९ लाख सेना तैनाथ गरेको र कश्मीरका नेतालाई जेलमा बन्द गरेको बताए । कश्मीरका नागरिकलाई दबाउन भारतले मिडिया र इन्टरनेटमाथि पनि प्रतिबन्ध लगाएको आरोप उनले लगाए । 

भारत नियन्त्रित कश्मीरमा शान्तिपूर्ण प्रदर्शन माथि व्यापक बल प्रयोग गरिएको उनले बताए । भारतले १३ हजार कश्मीरी युवालाई यातना दिएको आरोप समेत खानले लगाए । 

‘भारतले जम्मु कश्मीरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरिरहेको छ । सुरक्षा परिषद्को प्रस्तावमा स्पष्ट रुपमा विवादित क्षेत्रको समाधान युएनको निगरानीमा निष्पक्ष जनमत संग्रहबाट गर्ने भनिएको छ । भारतले कश्मीरमा अन्तर्राष्ट्रिय मानवअधिकारको पनि उल्लंघन गरेको छ । कश्मीरको मानवअधिकारको विषयमा विश्वले भेदभावपूर्ण नीति अपनाएको छ, यसप्रति म खेद प्रकट गर्दछु,’ पाकिस्तानका प्रधानमन्त्री खानले भने । 



खानले कश्मीरका पृथकतावादी नेता सैदल अली शाह गिलानीको मृत्युको विषय पनि उठाए । भारतले गिलानीको परिवारलाई मुस्लिम रिवाज अनुसार अन्त्येष्टी गर्न समेत नदिएको आरोप उनले लगाए । यसलाई उनले भारतको बर्बरता बताए । 

भारतसँग पाकिस्तानले शान्ति चाहेको उनले जनाए । उनले दक्षिण एसियामा जम्मु कश्मीर समस्या समाधान नहुन्जेलसम्म शान्ति कायम हुन नसक्ने दाबी गरे । संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार कश्मीरको समस्या समाधान गर्नुपर्ने उनले बताए । 



इमरान खानको आरोपको जवाफ भारले दिएको छ । ‘पाकिस्तान विश्वमा आतंकवादको समर्थकको रुपमा चिनिन्छ । जसलाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरेको छ त्यसलाई पाकिस्तानले आश्रय दिएर राखेको छ । ओसामा बिन–लादेनलाई पाकिस्तानले शरण दिई राखेको थियो । यहाँसम्मकी आज पनि पाकिस्तानले ओसामालाई सहिद बताउँछ,’ भारतले विज्ञप्ति जारी गरी भनेको छ । 

पाकिस्तानले आतंकवादीलाई पालन पोषण गरेको आरोप भारतले लगाएको छ । पाकिस्तानले बहुलवादलाई नबुझेको भारतले जनाएको छ । पाकिस्तानले अल्पसंख्यकलाई शिर्ष स्थानमा पुग्न नदिने नीति लिएको आरोप पनि भारतले लगाएको छ । भारतले जम्मु कश्मीर लद्दाख भारतको अभिन्न अंग भएको र सधै रहने दाबी गरेको छ । 

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १४:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया