नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण

भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो । 

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताइन् । उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौंलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदा पुनः निर्माणमा सहयोग गरिरहेको बताइन् ।

‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ, सम्पदा संरचना लगायतका क्षेत्रमा सम्पदा पुनर्निर्माणका लागि धेरै रकम प्रदान गरेको छ, गोरखा, नुवाकोट र काठमाडौं लगायतका क्षेत्रमा भत्किएका भौतिक पुनः संरचना निर्माणमा सहयोग गरेको छ, मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ, नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको छ,’ उपप्रमुख खम्पाले भनिन् । 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए । उनले गोरखा र नुवाकोटका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको बताए ।  

‘नेपालमा २०७२ सालको महा भूकम्पमा ध्वस्त भएका संरचनाहरूको पुनः निर्माणको लागि भारत सरकारले धेरै सहयोग गरेको छ, यसको लागि म भारत सरकारलाई धन्यवाद भन्न चाहन्छु,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘निजी निवास पुनर्निर्माणमा गरेको सहयोगले नै आज हामीले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण सम्पन्न गरेका छौँ, हामीलाई भारत सरकारले प्राविधिक र सामाजिक क्षेत्रमा गरेको सहयोग उल्लेख्य छ ।’ 

उनले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढंगले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराए । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १४:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया