नेपाली कांग्रेसका प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले पार्टीको प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
यादवले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए । उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउनुका साथै पार्टीको सुविधासम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेता यादवले आफू ६८ वर्षको उमेरमा पनि युवा रहेको र युवाजस्तै जोस र जाँगरका साथ काम गरिरहेको दाबी समेत गरे । २०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका यादवले १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन् ।
अर्को प्रसंगमा बोल्दै नेता यादवले कांग्रेसको केन्द्रीय सभापति पदका लागि आफ्नो सर्वमान्य नेता उपसभापति विमलेन्द्र निधि रहेको बताए । उनले केन्द्रीय सभापति पदमा सम्पूर्ण कांग्रेसी कार्यकर्ताले नेता निधिलाइ सहयोग गर्ने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।