विद्युत अवरुद्ध हुँदा मुगु अन्धकारमा, माेबाइल चार्ज गरेकाे सय रुपैयाँ

कर्णाली प्रदेशकाे हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकारमय बनेका छन् । बिजुली नहुँदा स्थानीयहरूले माेबाइल चार्ज गर्न सय रुपैयाँ तिर्न बाध्य छन् । जेनेरेटर र साेलारबाट माेबाइल चार्ज गर्नुपर्ने भन्दै  स्थानीय व्यापारीले एक पटक माेबाइल चार्ज गरेकाे सय रुपैयाँ लिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहकाे २-२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेकाे छैन । त्याे मेसिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका आसपासका बस्ती अन्धकार बन्न पुगेका हुन् । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।

एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा व्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दे आइरहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए। मोबाईल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परिरहेकाे भन्दै स्थानीय मणिचन्द्र भामले बताए।

प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएकाे जानकारी दिए । विद्युत नियमित गर्न पहल पनि भइरहेकाे उनले भनाइ छ । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुन: चाँडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्‍याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमी गर्न आग्रह गरिएको उनले बताए ।

जेनेरेटरको बेरिङ, एक्साइटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो । विद्युत सञ्चालनको लागि नेपालगञ्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएकाे छ । 

नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमै अट्किएकाे गमगढी वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताए ।
 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १४:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया