नेतृत्व चयनका लागि आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि हुँदैछ । पार्टी स्थापनाको ७५ वर्षपछि हुन लागेकाे महाधिवेशनले नेतृत्व चयन गर्नेछ । महाधिवेशनले नीति र कार्यक्रम भने पारित गर्ने छैन । 

महाधिवेशन विधानमा निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुन लागेकाे हाे । चार बर्से कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको कार्यकाल २०७६ फागुनमै सकिएको थियाे । 

तर, महाधिवेशन भएन । विशेष परिस्थितिमा विधानत: थप गर्न मिल्ने एक बर्से सुविधाको प्रयाेग र संविधानअनुसार प्राप्त गर्न सकिने ६ महिने सुविधा प्रयाेग गर्दै कांग्रेस महाधिवेशनमा होमिएकाे हाे । यही अवधिको अन्त्यतिर कांग्रेसले वडा तहको अधिवेशन थालेर महाधिवेशनको प्रक्रिया अघि बढाएको थियाे ।

१६ जिल्ला र प्रदेश २ काे अधिवेशनबिनै कांग्रेसको महाधिवेशनमा सकसपूर्ण ढंगले हाेमिएकाे हाे । 

याे महाधिवेशनबाट निर्वाचित हुने सभापतिलाई १९ जना सदस्यका लागि आगामी माघमा राष्ट्रियसभा निर्वाचन, वैशाखमा स्थानीय तह र त्यसपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई विजयी दिलाउने प्रमुख दायित्व छ ।

महाधिवेशनको उद्घाटन सत्र भने भृकुटीमण्डपमा हुँदैछ । त्यहाँ ४० लाख रुपैयाँमा मञ्च तयार भएकाे छ । 



प्रवक्ता विश्वप्रकाश शर्माले संघीय संसदमा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख नेतालाई महाधिवेशनमा सम्बाेधन गर्न बाेलाइएको बताए ।

`प्रमुख विपक्षी दल नेकपा एमालेसँगै माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षहरूलाई बाेलाइएको छ र उहाँहरूले सम्बाेधन गर्नुहुन्छ´, शर्माले भने ।



उनका अनुसार महाधिवेशनलाई सम्बाेधन गर्न भारतदेखि त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी , त्रिणमूल कांग्रेसकाे चार सदस्यीय प्रतिनिधिमण्डल हिजै काठमाडौं आइपुगेका छन् । 

देशभरिबाट चार हजार ५ सयकाे संख्यामा महाधिवेशन प्रतिनिधिहरू आइपुगेका छन् ।​महाधिवेशनको खुला सत्र कम्तीमा दुई घण्टाकाे हुने भनिएकाे छ । यसपछि कांग्रेस बन्द सत्रमा जानेछ ।

बन्द सत्रमा महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक काेइरालाकाे सांगठनिक प्रतिवेदन, काेषाध्यक्ष सीतादेवी यादवकाे लेखा प्रतिवेदन, उपसभापति बिमलेन्द्र निधि नेतृत्वको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिस्ठानकाे प्रगती प्रतिवेदनसँगै परिमार्जित पार्टी विधानसम्बन्धी प्रस्ताव पेस हुनेछ । 

यसअघि बिहीबारकाे केन्द्रीय समिति बैठकले बन्द सत्रमा छलफल गरी पारित गर्दै अनुमोदनका लागि यी प्रस्तावहरू पारित गरेकाे छ ।

महाधिवेशनमा निर्वाचन कार्यतालिका 

पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे गर्ने जनाएको छ ।

समितिका अनुसार मनोनयन दर्ता २५ गते (भाेलि) बिहान १० देखि साँझ ५ बजेसम्म, दाबी विरोध र जाँचबुझ २५ गते (भाेलि) र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय हुने मङ्सिर २५ गते साँझ ७ देखि ८ बजेसम्म हुनेछ । 

उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ८ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे भनिएकाे छ । 

मतदान भने २७ गते बिहान ८ बजेदेखि हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ६:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया