logo-img

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । 

सुदूरपश्चिमले समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश-१ माथि ७ विकेटको जित हात पारेको हो । 

सुदूरपश्चिमको जितसँगै यो समूहबाट साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।

१५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । सुदूरपश्चिमका लागि राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए ।

५२ बलको सामना गरेको रिजालले ९ चौका र २ छक्का प्रहार गरे । कप्तान सन्तोष भट्टले ४८ रन बनाउँदा अर्जुन साउद २६ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि प्रदिप र सन्तोषले ९८ रनको उत्कृष्ट साझेदारी गर्दै सुदूरपश्चिममा राम्रो सुरुवात दिलाएका थिए ।



प्रदेश-१ का लागि फिरदोस अन्सारी, मुकुन्द यादव र कमल खत्रीले १-१ विकेट हात पारे । 

यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । 



प्रदेश-१ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रनको योगदान दिए । सोनु अन्सारीले ३१, मनिष थापा र कप्तान अंकित सुवेदीले २३-२३ रन बनाए । 

सुदूरपश्चिमका लागि हेमन्त धामी र नारायण जोशीले २-२ तथा कैलाश ऐर, शेर मल्ल, आदित्य महता र सन्तोष भट्टले १-१ विकेट हात पारे । 

यो जितसँगै ४ खेलमा ४ अंक जोडेको सुदूरपश्चिमले तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्दा ३ खेलबाट १ अंकका साथ प्रदेश-१ अन्तिममा छ ।  

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा समूह ‘बी’ बाट नेपाल एपिएफ क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाए । 

माघ ४ गते हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबले समूह ‘बी’ को उपविजेता बागमती प्रदेशको सामना गर्नेछ ।

सोही दिन हुन दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपाल एपिएफ क्लब र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको फाइनल ५ माघमा हुनेछ ।  

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १२:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया