ईश्वर पोखरेलको चेतावनी : समयमै निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रीमानहरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए ।

‘श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ । संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ' उनले भने, 'यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जनपरिचालन हुन्छ । मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नु पर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चारमाध्यमहरु पनि विरोध गर्नुपर्ने बताए । उनले पार्टी निकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्‍याउने काममा केन्द्रित हुन आग्रह गरे ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १७:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया