बालविवाहको असर : घरेलुहिंसा भोग्दै आमा, कुपोषणको शिकार बन्दै सन्तान
फरकधार / ८ फागुन, २०७८
धर्मशिला पुन र रिता बुढाथोकी / तस्वीर - सीता

नलगाड नगरपालिका ४ प्युली जाजरकोटकी धर्मशिला पुनले १३ वर्षको उमेरमा विवाह गरिन् । ३५ वर्षीय धर्मशिलाले पाँच सन्तान जन्माइसकेकी छन् । विद्यालयसम्म नदेखेकी उनी परिवारको खम्बा नै हुन् ।



उनका श्रीमान् त छन् तर हलो जोत्नेदेखि घरको छानोसम्म धर्मशिलाले नै छाउनुपर्छ । पाँच छोराछोरीको पालनपोषण र शिक्षा-दिक्षाको जिम्मेवारी धर्मशिलालाई नै बढी छ । उसो त धर्मशिलाका श्रीमान् पनि मजदुरी गर्छन् ।

धर्मशिलाले पाँच सन्तान सकुशल जन्माइन् । सबैको स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै कान्छो छोरा पाँच वर्षको उमेरदेखि कुपोषणका कारण थलिए । तर, धर्मशिलालाई यो कुपोषणका कारण भएको भन्ने थाहा भएन ।



करिब तीन वर्ष कुपोषणबाट थलिएका छोरालाई उनले धामीझाँक्री गरिन् । खुट्टा सुन्निने र दुख्ने हुन थालेपछि निरन्तर तीन वर्षसम्म उनले धामीझाँक्री गरेकी हुन् । धामीझाँक्री गर्दा उनले करिब डेढ लाख रुपैयाँ खर्च गरिन् ।



धामीझाँक्रीबाट छोरालाई निको नभएपछि उनी अन्तिम विकल्पको रूपमा अस्पताल पुगिन् । डाक्टरको सल्लाहबमोजिम उनले छोरालाई कर्णाली प्रदेश अस्पतालको पोषण पुनर्स्थापना गृहमा राखेकी छन् । अहिले धर्मशिलाका छोराको अवस्था सुधार हुँदै गएको छ ।

सानै उमेरमा विवाह गरेकी उनले लगातार छोराछोरीलाई जन्म दिईन् तर उनीहरूको हेरचाह र पोषणमा ध्यान दिन सकिनन् ।

एकातिर छोराछोरीको गास जुटाउने चिन्ता अर्कोतिर श्रीमानले दिएको पीडा जसका कारण उनी निकै कमजोर भइसकेकी छन् । धर्मशिलाको घरमा आर्थिक अधिकार छैन तर श्रम भने उनले मात्रै गर्छिन् ।

‘सुत्केरीमै पनि काम गर्न जान्थेँ’ उनले भनिन्, 'घरमा भएको रुखो निक्लो पनि समयमै खान दिन सकिएन । काम नगरी भोकै परिने, काम गर्न गए छोराछोरीले समयमै खान नपाउने ।'

बालविवाहकै कारण आफूले बिघ्न समस्या भोग्नुपरेको उनी  स्वीकार्छिन् ।

उनीजस्तै बनगाढ–कुपिण्डे नगरपालिका सल्यानकी रिता बुढाथोकीले १७ वर्षको उमेरमा विवाह गरेकी हुन् । सानै उमेरमा गरेको विवाह र उमेरै नपुगी जन्माएकी छोरी कुपोषित भएपछि उनीसमेत प्रदेश अस्पतालमा रहेको पोषण पुनर्स्थापना गृह सुर्खेतमा बस्दै आएकी छन् ।

‘सानै उमेरमा विवाह गर्दा धेरै समस्या आउने रै'छ’ उनले भनिन् 'सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा आमा मात्रै नभई जन्मने छोराछोरीलाई समेत असर गर्दो रहेछ ।' आफूले सानै उमेरमा विवाह गरेर भोगेको समस्याका कारण अन्य बालिकालाई विवाह नगर्न सुझाउने गरेको उनले सुनाइन् ।

पञ्चपुरी नगरपालिका-६ सुर्खेतकी रबिना रोकायले समेत सानै उमेरमा विवाह गरिन् । उनले जन्माएको सन्तानसमेत कुपोषणको शिकार भएको छ । उनकी एक वर्षीय छोरीलाई कर्णाली प्रदेश अस्पतालको पोषण पुनर्स्थापना गृहमा राखेकी छन् । भन्छिन्, 'यो सानै उमेरमा गरेको विवाहको परिणाम हो ।'

उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । कर्णाली प्रदेशका अधिकांश महिला बालविवाहकै कारण घरेलुहिंसा खेप्न बाध्य छन् । उनीहरूबाट जन्मिएका सन्तानसमेत सोही कारण कुपोषित हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ तथा बालरोग विभाग प्रमुख डा. नवराज केसीका अनुसार आमाको उमेर पुगेर जन्मिएका शिशुको तुलनामा उमेर नपुगेर जन्मिएका शिशुको मृत्युदरसमेत २.५ प्रतिशत बढी हुने गरेको छ ।

नेपालमा सांस्कृतिक हिसाबले नै बालविवाह गर्ने चलनसमेत रहेको उनको तर्क छ । ‘बालविवाह गरेका कारण बच्चा हुर्काउनलाई आमाको गर्भ तयार भएको हुँदैन’ उनले भने 'बच्चाको मष्तिष्क ७० प्रतिशत आमाकै गर्भमा रहँदा वृद्धि हुन्छ । बाँकी ३० प्रतिशत दूध चुस्दा–चुस्दै वृद्धि हुने हो ।'

सानै उमेरमा जब गर्भ राख्नकै लागि तयार नभएको अवस्थामा कसरी बच्चाको विकास हुन्छ ? उनी प्रश्न गर्छन्

सानै उमेरमा बच्चा जन्माउँदा बच्चाको मष्तिष्क पूर्ण विकास नहुने र आमाको दूधसमेत नआउने हुनाले झनै समस्या हुने उनले सुनाए ।

बालविवाहका कारण परिवार नै आर्थिक चक्रमा फस्ने उनले तर्क गरे । आमाको दूध नआउने भएपछि बच्चा कुपोषित हुने, बिरामी पर्ने, आमा पनि कमजोर हुने र परिवारमा आर्थिक अभाव भई द्वन्द्वप सिर्जना हुने उनले सुनाए ।

कर्णाली प्रदेशमा अझै महिलाले नै काम गर्नुपर्ने प्रचलन भएको कारण उनी नै बिरामी परेपछि आर्थिक अभावसँगै हिंसाको समेत सुरुवात हुने उनले बताए ।

बालविवाहले परिवार मात्रै नभै देशलाई नै ठूलो क्षति हुने गरेको उनले सुनाए । बालविवाह, कुपोषण र घरेलुहिंसा एउटा चक्र भएको उनले बताए । त्यसैले सानै उमेरमा विवाह गर्न नहुने उनी सुझाउँछन् । राज्यले समेत बालविवाह रोक्न सके हिंसा र शिशु मृत्युदरसमेत रोक्न सकिने उनको भनाइ रहेको छ  ।

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार २०:४२:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया