logo-img

गौतमबुद्ध विमानस्थलमा २ जेठदेखि व्यावसायिक उडान भर्ने प्राधिकरणको यस्तो छ तयारी
फाइल तस्वीर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी २ जेठमा बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बसद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा १ वैशाखबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । १ वैशाखमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र २ जेठ अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बताए ।

आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने

उनले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे ।



नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।



गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ ।

त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् ।

त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताए ।

नयाँ एयर रुट चाहिन्छ

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा  दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए ।

विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाइ छ ।

जनशक्ति व्यवस्थापन

महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए । उनले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए । 

विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताए ।

'विमानस्थलमा आवश्यक जनशक्तिको व्यस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटी एजेन्सीहरुको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ' उनले भने ।

विमानस्थलको व्यापार, प्रचारप्रसार

त्यस्तै, महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए ।

विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाइ छ ।

अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गरे । उनले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।

विमानस्थल सञ्चालन

महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायीक ढङ्गले सञ्चालन गर्दा  विमानस्थलको अप्रेशन, मर्मतलगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताए ।

अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको बताए । विद्यमान कानून नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीले बताए ।

उनले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताए । अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भएपनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १६:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया