logo-img

मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू जनकपुरधाम आइपुगे [फोटो फिचर]
भोलि अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्कने

तराई/मधेशको सबैभन्दा लामो दूरीको धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू आज जनकपुरधाम आइपुगेका छन् । 

बुधबार १४औँ विश्रामस्थल भारतको विशौलमा रात्रि विश्रामपछि परिक्रमा यात्रीहरू आज जनकपुरधाम पुगेका हुन् । 

आज राति परिक्रमा यात्रीहरू जनकपुरधाममै विश्राम गर्ने र भोलि बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्कने छन् ।  

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला माध्यमिकी परिक्रमामा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् । 

नेपाल तथा भारतको साझा सांस्कृतिक महत्त्वको मिथिला माध्यमिकी परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भजन कीर्तनसहित तय गर्ने गरेका छन् ।

परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि यस परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यता रहेको छ । 



परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले नि:स्वार्थ रूपमा विभिन्न प्रकारका सेवा तथा सुविधा तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेका छन् ।

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको यो परिक्रमा पूर्णिमाका दिन अन्तरगृह परिक्रमा सकेपछि सम्पन्न हुन्छ । 



अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रुपमा तीर्थ यात्रीहरू अन्तरगृह परिक्रमामा सहभागी हुने गरेका छन् ।

धनुषाको साबिकको ठेरा कचुरी गाविसमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको राम-सीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुुरुवात हुने परम्परा छ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । माध्यमिकी परिक्रमामा रुचि राख्नेहरूको संख्या अहिले पनि उल्लेखनीय रहेको छ । डोलामा पछि-पछि परम्परागत बाजागाजा, झाकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीको सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिकस्थलको परिक्रमा गर्ने गर्दछ ।

  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १४:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया