logo-img

दशरथ रंगशाला अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरामा किन ?

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकाय जुरमुराएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एसियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि सक्रियता ती निकायले सक्रियता देखाएका छन् । जसको फलस्वरूप बहराइनसँगको ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा भए । 

अब यूएईसँग जुन ६ तारिख (२४ जेठ) मा हुँदैछ । त्यसका लागि दशरथ रंगशालाको अनुगमन गर्दा यसपटक पनि चित्तबुझ्दो जवाफ नआएको बुझिएको छ । जसका कारण यूएईसँगको खेल काठमाडौंमा नभइ उतै हुने सम्भावना पनि बढेको छ भने नेपालको दशरथ रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि अन्तर्राष्ट्रिय मान्यता किन नखोस्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्राचार भएपछि अहिले सरोकारवाला निकाय चिन्तित देखिएका छन् । 

बहराइनसँगको खेल सार्नुपर्दा आलोचित बनेको एन्फा फेरि यूएईसँगको खेलले दबाबमा आएको छ । एन्फाका महासचिव किरण राईले एफसीबाट पत्र आएको बताउँदै उनीहरूले सोधेका प्रश्नको जवाफ दिने तयारीमा रहेको सुनाए । खास गरेर एफसीले दशरथ रंगशालाको मैदान (पिच), फ्लर्ड लाइट र सुरक्षा व्यवस्थाको विषयमा जानकारी मागेको छ ।

सानातिना प्रतियोगिता आयोजना गर्न दिएर दशरथ रंगशाला बिग्रिएको गुनासो छ । तर, सबै दोष एन्फालाई भन्दा पनि रंगशालाको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि लिनुपर्ने एन्फाकै पदाधिकारी बताउँछन् ।

पहिला फुटबल संघको मातहतमा रहेको मैदान अहिले राखेपले आफैं जिम्मा लिएको छ । बहराइनसँगको खेल नेपालमा रद्द भएपछि मैदान राखेपले संरक्षण गरेर खेल्न योग्य बनाउने लक्ष्यका साथ एन्फाबाट खोसेको थियो । पहिला पनि फुटबलका गतिविधिमा मात्रै एन्फाले जिम्मा लिए पनि अन्य प्रयोजनका लागि राखेपको अनुमति अनिवार्य मानिन्छ । 



अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा नेपालमा बामे सर्दै गरेको ‘रग्बी’ खेल खेलाएपछि पिचमा समस्या आएको बताइन्छ । यसैगरी, विद्यालयका साना इभेन्टका लागि दैनिक भाडामा लगाउने, सांगीतिक कन्सर्टहरू आयोजना गर्नका लागि अनुमति राखेपले नै दिँदै आएको छ । 

यसअघि राष्ट्रपति रनिङ सिल्ड पनि यही मैदानमा भएको थियो । जसका कारण अहिले एफसीले सोधेका प्रश्न र समाधानका उपायका साथ सरोकारवाला निकायहरू युवा तथा खेलकुद मन्त्रालय, एन्फा र राखेप अघि बढ्नुपर्ने सरोकारवालाको सुझाव छ । 



एफसीले मैदान बाहिरको सुरक्षाको कुरा पनि उठाएको छ । कुनै भवितव्य पर्यो भने प्यारापिटबाट दर्शकहरू कसरी सुरक्षितरूपमा बाहिर निस्कने भन्ने कुराको पनि जवाफ खोजिएको छ । 

एफसीले एन्फालाई सोधेको प्रश्नको जवाफ एन्फाले पनि रंगशालाको जिम्मा लिएको निकाय राखेपसँग माग गरेको छ । तर, सुरक्षाको रिपोर्ट अहिलेसम्म नबनाएको र तत्काल दिने सम्भावना नभएको जवाफ एन्फालाई राखेपले दिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउने र दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि आज खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीले छलफल गर्न लागेका छन् । 

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १४:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया