विद्यालयलाई बस : सुमोको हुटको जोखिमपूर्ण यात्राबाट विद्यार्थीले पाए मुक्ति

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीका विकास पौडेलका दुई छोरा र एक छोरी छन् । एउटा छोरा सिस्नेरीमा आफन्तको बसेर पढ्छन् भने छोरी र ५ वर्षको छोरा चिसापानीगढीबाट पढ्नका लागि भीमफेदी बजारमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आउने गरेका छन् । छोरीले यो वर्ष कक्षा १० मा पढ्दैछिन् ।

कक्षा चारसम्म गढीसँगै रहेको बटुकभैरव आधारभूत विद्यालयमा छोरी पढाएका विकासलाई त्यहाँ ठूलो कक्षाको पढाइ नहुने भएपछि छोरीलाई कसरी विद्यालय पठाउने भन्ने चिन्ताले सताउँथ्यो । बिहान १० बजे विद्यालय पुग्नैपर्ने । तर, हिँडेर जाँदा साँढे १ घण्टाको बाटो । त्यसमा पनि दिनमै सयौँ सवारी गुड्ने व्यस्त सडक । तर, पनि कहिले सुमोको हुटमा त कहिले अरूको मोटरसाइकलमा लिफ्ट मागेकै भरमा विकासकी छोरी अहिले १० कक्षासम्म आइपुगेकी छिन् ।

उनले जति समस्या भोगेर पढिन् अब उनको भाइ सिजनले त्यस्तो दुःख भोग्न नपर्ने भएको छ । विद्यालय आउजाउ गर्न सडकमा बसेर आँखा तन्काउँदै हेटौंडा काठमाडौं गर्ने सुमोलाई हात हल्लाउन पर्ने छैन । लिफ्ट नपाएकै कारण घर पुग्न झमक्क साँझ पर्ने छैन । अझै कहिले गाडी नपाएकै कारण घर जान नपाएर साथीकोमा बास बस्न पर्ने छैन ।

विद्यालयमा बागमती प्रदेश सरकार, भीमफेदी गाउँपालिका र विद्यालयको सहकार्यमा विद्यालय बस सेवा सञ्चालन भएपछि आफ्नो साना नानीबाबु विद्यालय कसरी जान्छन् र घर कसरी फर्किछन् भन्ने चिन्ता हटेको विकास बताउँछन् ।

पहिलाको दिन स्मरण गर्दै पौडेलले भने, 'बाटोमा सुमोले रोकेर ल्याइदिए पढाइ भ्याउने नत्र पढाइ नै छुट्ने समस्या थियो । विद्यालय छुटेर घर फर्कंदा पनि समस्या उस्तै । विद्यालय छुट्टी भएपछि सडकमा बसेर हरेक सुमोलाई हात हल्लाउँदैमा घण्टौँ बित्ने गर्थ्यो । सुमोले रोकिहाले उज्यालोमै घर पुग्यो नत्र प्रायः धेरै जसो अँध्यारो नभइ घर पुग्न नसकिने समस्या रहँदै आएको थियो ।'



यति मात्रै होइन, विद्यालय जान हिँडेका बालबालिकाको अभिभावकलाई आफ्ना छोराछोरी घर नआइपुगेसम्म पीर लागिरहने पौडेलको अनुभव छ ।

अब भने यातायातको समस्या भोगिरहेका भीमफेदीका ३, ४, ५ र ६ नम्बरको चिसापानी गढी, देउराली, जुरीखेत, पान्द्राङ, उर्लाबारी, लामखोला लगायतका बालबालिकालाई सहज भएको छ । सुमोका भरमा विद्यालय आउजाउ गर्ने बालबालिका तथा आफ्ना छोराछोरीको ज्यानको बाजी राखेर विद्यालय पठाउने अभिभावकहरु अब भने ढुक्क छन् ।



आफ्ना नानीबावुले गाडी पाएनन् की ? सुमोले रोकन की ? कसैले बाइकमा लिफ्ट दिएन की, भनेर सोचेर पीर लिने आमाबुवा यतिबेला दंग छन् । हिँड्नुपर्ने बाटो धेरै भए पनि दिनमै सयौँ सवारी गुड्ने व्यस्त सडकमा आफ्ना साना नानीबाबुहरू आँखा तन्काउँदै सुमोलाई हात हल्लाउन नपर्ने भएको छ । 

बागमती प्रदेश सरकारले भीमफेदी-६ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयलाई विद्यालय बस खरिद गरी हस्तान्तरण गरेपछि अब आफ्ना बालबालिकालाई सुमोको हुटमा बसेर यात्रा गर्नुपर्ने जोखिम हट्ने भएको भन्दै स्थानीय खुसी भएका छन् ।

महेन्द्र माध्यमिक विद्यालयका प्राध्यापक कुमारसिंह लामा सामाजिक विकास मन्त्रालयको सहयोगले सयौँ बालबालिकाका दुर्घटनाको जोखिम कम गरिदिएको बताउँछन् । देउरालीदेखि जुरेखेतसम्मका गरी १५० देखि २०० हाराहारीमा विद्यार्थी भीमफेदी बजारसम्म आउन पर्ने बताउँदै गाडी नपाएकै कारण सबै विद्यार्थीले सधैँ पढ्नसमेत नसक्ने लगायतका समस्या भोग्नुपरेको प्राध्यापक लामाले बताए ।

उनले भने, 'धेरै सास्ती भोग्नु परेको थियो । अन्त विद्यालय नभएको कारण साना साना नानीबाबुहरू पनि यहीँ पढ्न आउन पर्ने थियो । हामी विद्यालयले नै सवारी किनेर सुविधा दिन सक्ने अवस्था थिएन । विद्यार्थी गाडी नपाएर घर जान नपाएको बेला यतै भएका आफ्ना साथीहरुको घरमा पनि बस्ने गरेका थिए । सुमोमा पनि सबै सिटमा मान्छे राखेरै ल्याएको हुन्छ । कुनै सुमो चालकले त दया लागेर रोकेर हुटमा भए पनि राखेर ल्याउने लाने गरिदिन्छन् । तर धेरै जसोले बच्चाहरु लड्लान् अथवा केही होला भन्ने डरले रोक्नै नमान्ने गर्थे । अब भने विद्यार्थी, अभिभावक, हामी शिक्षकहरू, जोखिम मोलेर हुटमा लिफ्ट दिने सुमो चालकहरू तथा स्थानीय निकाय सबैलाई निकै आनन्द हुने छ ।'

प्राध्यापक लामाका अनुसार विद्यालयको पहलमा भीमफेदी गाउँपालिकाले अघिल्ला वर्ष पनि सामाजिक विकास मन्त्रालयमा स्कुल बसको लागि सम्झौता गरेको थियो । अघिल्लो वर्ष भने आफ्नो विद्यालयलाई बस उपलब्ध नभएको तर गत वर्ष भने उपलब्ध भएकोमा निकै खुसी लागेको विद्यालयका प्राध्यापक लामा बताउँछन् ।

त्यसो त भविष्यको कर्णधार बालबालिकाको सिंगो अभिभारा रहेको स्थानीय निकायले ठूलो उपलब्धि हाँसिल गर्न सफल भएको गाउँपालिकाका जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् । घरबाट विद्यालयका लागि निस्किएका आफ्ना छोराछोरी कुन बेला विद्यालय पुगे, कुन बेला घर आइपुग्छन् भन्नेसमेत थाहा नहुने अभिभावकको चिन्ता अब सधैँका लागि हट्ने गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् ।

४२ सिटको क्षमता रहेको टाटा स्कूल बसको मूल्य ३८ लाख रुपैंया भए पनि विभिन्न छुट लिएर सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँमा खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

विद्यालयलाई उक्त बस हस्तान्तरणपछि आउने खर्च, इन्स्योरेन्स, कर आदिको खर्च विवरण भने विद्यालय नै व्यहोर्नुपर्ने र त्यसैअनुरूप खर्च विद्यालय नै व्यवस्थापन गर्दै आइरहेको छ ।

बस सञ्चालनकै लागि विद्यालयमा बस सञ्चालन समिति नै गठन गरेको प्राध्यापक लामा बताउँछन् । उनका अनुसार बसमा इन्धनको प्रबन्ध, चालक, सहचालकको खर्च तथा मर्मत खर्च लगायतका कामहरू सबै समितिले नै हेर्दै आइरहेको छ ।

घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी बागमती प्रदेश सरकारले आवश्यकताको आधारमा प्रदेशका सामुदायिक विद्यालयलाई ‘स्कूल बस’ वितरण गर्दै आइरहेको छ । यसैअनुसार भीमफेदी गाउँपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई प्रदेश सरकारले स्कूल बस हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउँदै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो ।

विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका र विद्यालय बसको अभाव खेपिरहेका विद्यालयको मागका आधारमा कारण त्यस्ता विद्यालयलाई प्राथमिकतामा राखेर बस दिइएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा २५ वटा र अघिल्लो आर्थिक बर्षमा २०७७/७८ मा १९ गरी हालसम्म ४४ वटा बस वितरण गरिएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा भने योजनाको माग भएको तर हालसम्म वितरण नगरिएको सामाजिक विकास मन्त्रालयको दाबी छ ।

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १९:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया